नेफ्स्कूनको कार्यक्रममा सहकारीमन्त्रीकाे आक्रोश : सहकारी साहुकारी भए, संघहरुले भूमिका निर्वाह गरेनन् 

नेफ्स्कूनको कार्यक्रममा सहकारीमन्त्रीकाे आक्रोश :  सहकारी साहुकारी भए, संघहरुले भूमिका निर्वाह गरेनन्  :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्था, संचालक र सहकारीका नेताप्रति आक्रोश पोखेकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को  स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा उपस्थित मन्त्रीलाई सहकारी नेताहरुले सहकारीको सुधारका लागि काम गर्न नसकेको आरोप लगाएपछि सहकारीहरु सिद्धान्त अनुसार संचालन नभएको, संघहरुले काम गर्न नसकेको भन्दै सरकारलाई मात्र दोष दिएर पछिन्न नमिल्ने बताइन् ।

मन्त्री श्रेष्ठले आफु समेत सहकारीबाट पिडित भएको प्रशंग निकाल्दै सहकारी साहुकारी बन्दा समस्या आएको बताइन् । सहकारी समाजिक कार्य, सामुहिक भावनामा सरिक नभएर साहुकारी भएको उनको भनाइ छ । 

‘मैले सहकारीमा २३ प्रतिशत ब्याज तिर्न वाध्य भएको छु’, ऋण लिएर गर्जो टार्न खोज्दा चर्को ब्याजमा परियो’ मन्त्री श्रेष्ठले भनिन्,‘म बचत तथा ऋण सहकारीबाट पीडित हुँ ।’

धितो राख्न सहज भएपनि चर्को ब्याजका कारण सहकारीबाट सदस्यको जीवनस्तर उकासिन नसकेको उनले बताइन् । ‘सहकारीले बढी ऋण लिएर सदस्यको शोषण गरेको देखेको छु, भोगेको छु’ उनले भनिन् । 

नियामक निकायको भूमिका कमजोर बनाइएको मन्त्री श्रेष्ठले बताइन् । नियामक निकयको भूमिका कमजोर हुँदा सहकारी समस्यामा परेको उनले बताइन् । ‘अभियान र राज्य मिलेर सहकारीको सुद्धिकरणमा लाग्नुपर्छ’ उनले भनिन् । 

सहकारी सुधार्ने सरकारको मात्र जिम्मेवारी नभएको भन्दै मन्त्री श्रेष्ठले सुद्धिकरणका लागि अभियानको सहकार्यको खाँचो भएको बताइन् । कोभिडपछि अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सहकारी गम्भीर हुनुपर्ने उनको भनाइ छ । ‘सहकारीले सदस्यको जीवनस्तर सुधार गर्नपर्छ’ उनले भनिन्,‘सहकारीले नाफा हेर्ने होइन ।’

सहकारीमा नयाँ खालका चुनौती र समस्या थपिएकाले सिद्धान्त र मूल्य, मान्यता भन्दा बाहिर नजान मन्त्री श्रेष्ठले चेतावनी दिइन् । 

सहकारीको प्रर्वद्धन र विकासमा लाग्ने उनले विश्वास व्यक्त गरिन् । ‘सहकारी ऐन, नियमावली कार्यान्वनमा ध्यान गएको छ,’ उनले भनिन्, सहकारी कर्जा सूचना केन्द्र, सहकारी ऋण असुली न्यायाधिकरण, स्थिरीकरण कोष लगायत कार्यान्वयन प्रक्रिया अघि बढेको छ ।’

कोपोमिसको प्रभावकारी कार्यान्वयन गरेर सहकारीको वास्तविक तथ्यांक ल्याउने मन्त्री श्रेष्ठले बताइन् । उत्पादन र उत्पादकत्वमा लगानी गरी रोजगारी र उद्यमशीलता बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताइन् । 



Leave a comment