संगठित रुपमै सहकारी किनबेच : एउटा संस्थाको ३० लाखसम्म

संगठित रुपमै सहकारी किनबेच : एउटा संस्थाको ३० लाखसम्म :: Sahakari Akhabar

काठमाडौं । नियामक निकायको कमजोरीका कारण कानुन विपरित सहकारी किनबेच बढ्दै गएको छ । सहकारीमा नेतृत्व हस्तान्तरण हुदैँ जानुपर्ने भएपनि पछिल्लो समयमा खुलेआम किनबेच हुने गरेको छ ।

किनबेचका सूचना सामाजिक सञ्जालमा बारम्बार आउने गरेका छन् । यसअघि व्यक्तिगत रुपमा किनबेचको सूचना जारी भएपनि विस्तारै कम्पनीमार्फत नै यस्तो कारोबार हुन थालेको हो । कम्पनी दर्तालगायतका सेवा दिन खुलेका कम्पनीहरु सहकारीको किनबेचमा सक्रिय भएको पाइएको छ । सामाजिक संजाल तथा संचारमाध्यम प्रयोग गरी खुलमखुल्ला सहकारी किनबेच हुने गरेपनि यसलाई नियामक निकायले नियन्त्रणमा चासो दिएको छैन ।

एसएस पोखरेल कन्सल्टेन्सी प्रालिका नामबाट सहकारी बिक्रीका लागि सूचना सार्वजनिक भएको छ । कम्पनीका सीताराम पोखरेलले सूचना जारी गर्दै सहकारी खरिद गर्नुपरेमा सम्झन भनेका छन् । सहकारी खरिद गर्ने ग्राहकको रुपमा सहकारी अखबारले कुराकानी गर्दा उनले एक दशकअघि स्थापना भएका बचत तथा ऋण सहकारी संस्था आफूसँग रहेकोे जानकारी गराए । कोटेश्वर र बालाजु ठेगानामा दर्ता भएका दुई वटा बचत तथा ऋण सहकारी संस्था आफूसँग रहेको र प्रति संस्था ३० लाख रुपैयाँमा बिक्री गर्ने बताए ।

‘दुवै संस्था ८÷१० वर्षअघि दर्ता भएका सहकारी हुन्’ पोखरेल भन्छन्, ‘तर दुवै संस्थाको ब्यालेन्ससिट शुन्य छ, कारोबार केही पनि भएको छैन ।, जस्तो दर्ता गर्दाको थियो, त्यस्तै छ ।’  ३० लाख सहित १०÷१२ जनाको नागरिकता दिएमा छिट्टै सहकारी हस्तान्तरण गरिने पोखरेलले बताए ।

‘विनियम जस्तो चाह्यो त्यस्तै स्वीकृति गराउन सकिन्छ’ उनले भने । कार्यक्षेत्र विस्तार गरी भनेको ठेगानासम्म पु¥याएर दिने पनि उनले दावी गरे । त्यसपछि सहकारीमा कति लगानी गर्ने, सेयर पुँजी कति राख्ने तपाईहरुको जिम्मा भयो, आफै माइन्युट गरेर गर्न सक्नुहुन्छ’ पोखरेल भन्छन् ।

पछिल्लो समयमा सहकारी खरिदबिक्रीका सूचना सामाजिक सञ्जालमा बारम्बार आइरहे पनि नियामक निकाय मौन बसेको छ । यसलाई नियन्त्रण गर्न संघिय सहकारी विभागलगायतले चासो दिएको छैन ।



Leave a comment