चार करोड भन्दा बढि लगानी भएको जडिबुटी सहकारी बन्द 

चार करोड भन्दा बढि लगानी भएको जडिबुटी सहकारी बन्द  :: Sahakari Akhabar

रुपन्देही । सरकारले उत्पादन तथा प्रशोधन गर्ने सहकारीलाई प्राथमिकता दिने बताइरहेका बेला जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्देश्यले स्थापना भएको सहकारी भने बन्द भएको छ ।

सिद्धार्थनगर नगरपालिकामा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको त्र्यम्बकम् जडिबुटी सहकारी संस्थाले २ हजार सेयर सदस्यबाट चार करोड भन्दा बढि सेयर संकलन गरेको थियो । संस्थाले जडिबुटी खेती, प्रशोधन उद्योग स्थापना र आयुर्वेदिक औषधी समेत उत्पादन सुरु गरेपनि व्यवस्थापन गर्न नसक्दा सहकारी बन्द भएको हो ।

संस्था समस्यामा परेपछि अध्यक्ष डा. बद्रीप्रसाद गौतम नेपाल बाहिर छन् । व्यवहार मिलाउन नसकेकाले तत्काल नेपाल नआउने उनले सदस्यलाई जानकारी गराउँदै आएको सदस्यहरु बताउछन् । संस्थाको कारोबारलगायतका हरहिसाव अध्यक्ष गौतम बाहेक अन्य संचालकहरुलाई थाहा छैन ।

विगत एक वर्षदेखि कार्यसमितिको बैठक बस्न नसकेको र अध्यक्ष गौतम पैसा नभएर देश बाहिर हुनुपरेको जानकारी गराएको कोषाध्यक्ष किरण भण्डारीले बताए । ‘सञ्चालन गर्न सक्ने स्थिति नभएकाले हामीले हात उठायौं’ भण्डारी भन्छन्, ‘मलाई धेरै कुरा थाहा छैन, म कोषाध्यक्ष भए पनि सर्वेसर्वा अध्यक्ष गौतम नै हो ।’

अध्यक्ष सम्पर्कविहिन भएपछि संस्थाले रुपन्देहीमा सुरु गरेको प्रशोधन कारखाना अलपत्र अवस्थामा छ । ५ करोड बढी लागत अनुमानमा कारखाना स्थापना गर्ने उद्देश्यले सुरु भएको भवन निर्माणमा डेढ करोड बढी खर्च भइसकेको छ ।

कोषाध्यक्ष भण्डारीका अनुसार संस्थामा हाल १ हजार ५५ जना सदस्य छन् । सुरुमा १ हजार ९ सय रहेकोमा करिब ९ सयले आफ्नो सेयर फिर्ता लगिसकेका छन् । धेरैजसो सदस्यले प्रतिव्यक्ति ३ लाख रुपैयाँ सेयर हालेका छन् ।

कोषाध्यक्ष भण्डारी सदस्यले सेयर फिर्ता माग्ने क्रम बढेको बताउँछन् । ‘खासगरी साना सदस्यले सेयर फिर्ताका लागि हैरान पारेका छन्,’ उनले भने, ‘कार्यालय खोल्ने स्थिति नै नभएपछि बन्द गरिएको हो ।’ सहकारीले २ वर्षदेखि कार्यालयको भाडा समेत तिर्न सकेको छैन।

संस्थाका सञ्चालकहरु सम्पर्क विहिन रहेको र २ वर्षदेखि भाडा नदिएको भन्दै कार्यालयको ताला जनप्रतिनिधि, वडा सचिव, प्रहरी र टोलवासीको रोहबरमा तोडिएको छ । मासिक १८ हजार भाडा दिने गरी ५ वर्षका लागि २०७७ साउन १ गते भाडामा लिए पनि सम्झौता गरिए पनि भाडा नदिएको घरधनीले गुनासो गरेका छन् । ताला फोड्दा आफुलाई बोलाए पनि नगएको कोषाध्यक्ष भण्डारी बताउँछन् ।

संस्थाले १४ बिगाहमा ९ किसिमका जडिबुटी खेती गर्दै आएको थियो । संस्थाले जडिबुटीबाट वार्षिक चार करोडसम्म आम्दानी गर्दै आएको थियो । बचत पनि संकलन गर्दै आएको संस्थालाई सदस्यलाई जडिबुटीका बिरुवा दिने गरेको थियो । ‘कति बचत संकलन भएको छ, मलाई केही पनि थाहा छैन’, कोषाध्यक्ष भण्डारी भन्छन्,‘साधारणसभाको प्रतिवेदनसमेत मसँग छैन ।’

२०७४ मा डा. बद्रीप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि एकपटक मात्र साधारणसभा भएको कोषाध्यक्ष भण्डारीले बताए । ‘म जिम्मेवारीमा आउनु अघि नै धेरै डामाडोल भइसकेको रहेछ, कतिपय भित्रि कुरा मलाई पनि राम्रोसँग थाहा छैन’, उनले भने, ‘गौतम पहिला पनि अध्यक्ष थिए ।’ पुँजी नभएर नै उत्पादन तथा प्रशोधनको काम गर्न नसकिएको भण्डारी बताउँछन् ।

संस्थाले कोभिडको बेला १६ थरी आयुर्वेदिक घरेलु औषधि बनाएर बिक्री गरेको भण्डारी बताउँछन् । साना मेसिनबाट घरेलु औषधि बनाउने गरिए पनि पछिल्लो समयमा सबै थप्प रहेको कोषाध्यक्ष भण्डारी बताउँछन्।

संस्थाका व्यवस्थापक छोडेर बैंकमा जागिर खान गइसकेका छन् । अन्य कर्मचारी पनि लाखापाखा लागिसकेका छन् । सहकारीमा उच्च घराना भित्र्याएर व्यवस्थापन उसैको जिम्मा जोड्ने तयारी भएको भण्डारीले बताए ।

नेपाल जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डे त्रयमबकम् संस्थाको पछिल्लो परिस्थितिबारे जानकार नभएको बताउँछन् । नर्सरी स्थापना र उद्योग सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना भएपनि ४ महिनायता अध्यक्षसँग सम्पर्क नभएको उनले बताए । ‘स्पिडमा जान सकेन । केही समयअघि नै सुस्ताएको थियो,’ पाण्डे भन्छन्, ‘सपना जे थियो, पुँजी र विषय विज्ञता अभावका कारण गति लिन सकने ।’

बजारमा जडिबुटीको माग भएपनि त्रयमबकम् सफल हुन नसकेको उनले बताए । दर्ता भएको ११ वर्ष भए पनि सपना पूरा गर्न अलपम परेको देखिएको पाण्डे बताउँछन् । ‘आर्थिक अभावले अल्झिएको छ,’ पाण्डे भन्छन्,‘ नबुझेको किसान नभएर पनि उद्योग चलाउन समस्या परेको हुन सक्छ ।’



Leave a comment