काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको भन्दै सहकारीकर्मीहरुले सन्दर्भ ब्याजदर बढाउन दवाव दिइरहेका बेला भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ विपक्षमा देखिएकी छिन् । सहकारीको ब्याजदर बृद्धि गर्न नहुने अडान सार्वजनिक रुपमा राख्दै आएकी उनले दवाव छल्नका लागि सहकारीका नेताहरुलाई समेत भेट्टन समेत अस्विकार गरिरहेकी छिन् ।
‘सहकारी मन्त्रीज्यूसँग भेटघाटका लागि एक सातादेखि समय मागिरहेका छौं’ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलले भने, ‘आज–भोली भन्दै उहाँले टारिरहनु भएको छ ।’ सहकारी ऐन–२०७४ मा ब्यवस्था गरिएको सन्दर्भ ब्याजदर सिफारीस समिति संघिय सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा रहने ब्यवस्था छ ।
समितिका संयोजक तथा रजिष्ट्रार रुद्र प्रसाद पण्डितले मन्त्रीज्यू सहमत नभइसम्म ब्याजदर पुनरावलोकन गर्न नसक्ने अभियानलाई बताइसकेका छन् । जसको कारण साउन २५ गते बस्ने भनिएको समितिको बैठक समेत अनिश्चित बनेको छ ।
मन्त्री श्रेष्ठले राष्ट्रिय सहकारी बैंकको वार्षिक उत्सवको अवसरमा आयोजिक औपचारिक कार्यक्रममा ब्याजदर बढाउन नहुने बताएकी थिइन् । गत फागुनमा पनि ब्याजदर नबढाउन मन्त्रीले निर्देशन दिएपछि सहकारीकर्मीहरुले सहकारी विभागमा दवावमुलक कार्यक्रम समेत गरेका थिए ।
मन्त्रालय स्रोतका अनुसार सहकारी निम्न वर्गसँग काम गर्ने संस्था भएकाले यसको ब्याजदर बैंकले जस्तो बढाउन नहुने मन्त्री श्रेष्ठको अडान छ । यसैगरी चुनाव तोकिएकाले ब्याजदर बढाउन पार्टीप्रति नकारात्मक सन्देश जाने भन्दै यसलाई बढाउन नहुने उनको अडान छ ।
सहकारी अभियानले भने सन्दर्भ ब्याजदर समायोजन गर्न नसके ब्याजदर बजारको आधारमा स्वचालित हुने ब्यवस्था गर्न समेत आग्रह गरिएको छ । सहकारी अभियानको तर्फबाट गत आइतबार जारी भएको संयुक्त अपिलमा समेत सन्दर्भ ब्याजदर स्वचालित गर्ने ब्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । सरकारले सन्दर्भ ब्याजदर कुनै पनि हालतमा नबढाउने अडान लिएको छ भने सहकारीकर्मीले समायोजक नगरे यसलाई अवज्ञा गर्ने बताउन थालिसकेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल सन्दर्भ ब्याजदर समयअनुसार पुनरावलोकन नभए सहकारीले फरक ढंगको व्यवहार गर्न सक्ने बताए । ‘समयसापेक्षित निर्णय भएन भने सामाजिक सुधार ऐन जसरी सन्दर्भ ब्याजदर पनि उल्लंघन हुन सक्छ ।’ बजारका केहि संस्थाहरुले प्रकाशित गरेको ब्याजदर सन्दर्भ ब्याजदर भन्दा बढि छ ।
Leave a comment