सहकारीका संघहरुबीच अपिल जारी गर्ने प्रतिस्पर्धा 

सहकारीका संघहरुबीच अपिल जारी गर्ने प्रतिस्पर्धा  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावका कारण प्रारम्भिक सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न समेत रकम अभाव हुन थालेको छ । समस्याग्रस्त सहकारीको संख्या बृद्धिले सहकारीप्रति सर्वसाधारणको विश्वास पनि घट्दो छ । नकारात्मक प्रचारले संस्थामा बचत फिर्ता माग्ने सदस्यको संख्या बढिरहेको छ । संस्थाहरुले सदस्यको माग अनुसार रकम फिर्ता गर्न सकेको छैनन् ।

तर, प्रारम्भिक संस्थाहरुलाई अप्ठेरोमा सहयोग गर्नुपर्ने छाता संघहरु भने अपिल जारी गर्ने प्रतिस्पर्धामा लागेका छन् । एकपछि अर्को गर्दै संघहरुले अपिल जारी गर्दै प्रारम्भिक संस्थाहरुलाई सल्लाह–सुझाव दिन मात्र सिमित देखिएका छन् ।

छुट्टाछुट्टै र संयुक्त रुपमा अपिल जारी गरेपनि उनीहरुले न संस्थालाई सहयोगको योजना दिन सकेका छैनन् न त समस्या समाधानका लागि स्पष्ट भिजन नै । अपीलमार्फत सहकारी सिद्धान्त, ऐन, कानुन कार्यान्वयका सुझावमार्फत दिएका छन् ।

सहकारी संघहरुको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघमार्फत नै अपिल जारी भएपछि पनि केन्द्रीय र जिल्लास्तरिय संघहरुले पनि छुट्टाछुट्टै तथा संयुक्त अपिल जारी गरेका छन् । सहकारीमा समस्या बढ्दै गएपछि महासंघले साउन १७ गते ९ बुँदे अपिल जारी गर्दै प्रारम्भिक संस्थाहरुलाई सल्लाह सुझाव दिएको थियो ।

उक्त अपील सम्पूर्ण सहकारी संघ / संस्था तथा सदस्यहरुलाई धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रूपमा कदम चाल्न अनुरोध गरिएको थियो । महासंघले बढि तरलताको ब्यवस्था गर्न, सरोकारवाला निकायसँग समन्वय गर्न, संस्थागत शुसासन कायम गर्नलगायतका सुझाव दिएको थियो ।

त्यसपछि साउन २० गते महासंघकै सदस्य रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) ले छुट्टै अपिल जारी ग¥र्यो । ७ बुँदे अपिलमा पनि संस्थाहरुलाई सहकारी ऐन कानुन, सिद्धान्त अनुसार काम गर्न, असुलीमा ध्यान दिनलगायतका सल्लाह -सुझाव दिन मात्र सिमित भएको छ ।

साउन २० गते जिल्ला सहकारी संघ काठमाडौंले पनि उत्तेजित नहुँन तथा धैर्यता कायम गर्न आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गर्यो । संघले भ्रमपूर्ण हल्लाको पछि नलाग्न र नआत्तिन आग्रह गरेपनि अप्ठ्यारोमा परेका संस्थाहरुलाई सहयोग गर्ने कुनै योजना अघि सारेको छैन । महासंघ तथा संघहरुले छुट्टाछुट्टै अपिल तथा विज्ञप्ती जारी गरेपछि साउन २२ गते फेरी महासंघलगायत १५ वटा संघहरुको नाममा १५ बुँदे अपिल जारी गरिएको छ ।

प्रारम्भिक संस्थाका संचालकहरुले नेतालाई हिजो अप्ठ्यारो अवस्थामा के गरिस् भनेर सोध्ने भएकाले देखाउनकै लागि अपिलहरु जारी भएको अर्का सहकारीकर्मीले बताए । नयाँ कुरा नभएपनि संघहरुले आफ्नो काम देखाउनका लागि छुट्टाछुट्टै अपील जारी गरेको उनले दावी गरे ।

नेफ्स्कून तथा कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, बाग्मती प्रदेश संघ, प्रदेश बचत संघका साथै उपत्यकाका तीन जिल्ला तथा काभ्रेका जिल्ला संघ, विषयगत संघ र विषयगत संघहरु सम्मिलित सहकारी संयन्त्रको निर्णय अनुसार भन्दै पत्रकार सम्मेलन गरेर जारी गरिएको अपिल पनि प्रारम्भिक संस्था र सरकारलाई सुझाव दिनलाई मात्र केन्द्रीत छ । संयुक्त अपिलमा सहकारी अभियानले तरलता अभाव, समस्याग्रस्त सहकारीको विषयमा के कस्तो सहयोग गर्दैछ भन्ने विषयमा केहि उल्लेख छैन भने ।

संयुक्त विज्ञप्तीपछि जारी भएकै साझ जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरले छुट्टै अपिल जारी गर्दै संयुक्त अपिलबारे संघलाई जानकारी नभएको प्रतिक्रिया दियो । तर, संयुक्त विज्ञप्तीमा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्षको भने हस्ताक्षर रहेको थियो ।

यसैगरी संयुक्त अपिलमा हस्ताक्षर गरेको काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले मंगलबार छुट्टै अपिल जारी गरेको छ । ११ बुँदे अपिल पनि संस्थाहरुलाई सल्लाह सुझाव दिन मात्र सिमित छ । संघहरुले ठूलै काम गरेजस्तो अपिल जारी गर्न प्रतिस्पर्धा गरेको सहकारीकर्मीले बताउदै आएका छन् । ‘यो बेला यसो गरो उसो गर भनेर राय सुझाव दिएर मात्र पुग्दैन’ एक सहकारीकर्मीले भने, ‘तर, एकल र संयुक्त रुपमा अपिल जारी गर्ने होडबाजी नै चलेको छ ।’

प्रारम्भिक संस्थाका संचालकहरुले नेतालाई हिजो अप्ठ्यारो अवस्थामा के गरिस् भनेर सोध्ने भएकाले देखाउनकै लागि अपिलहरु जारी भएको अर्का सहकारीकर्मीले बताए । नयाँ कुरा नभएपनि संघहरुले आफ्नो काम देखाउनका लागि छुट्टाछुट्टै अपील जारी गरेको उनले दावी गरे ।

यसअघि कोभिड–१९ को महामारीमा महासंघलगायत केन्द्रीय तथा जिल्ला संघहरुबिच अपिल जारी गर्ने प्रतिस्पर्धा चलेको थियो । तर, संस्थाका कर्मचारीहरुले कार्यालय संचालन गर्न सवारी पास समेत नपाउदा संघका नेताहरु लुकेर बसेको भन्दै सहकारीका कार्यक्रमहरुमा आलोचना हुने गरेको छ ।

पूर्व सहकारी रजिष्ट्रार तथा सचिव केदार न्यौपाने सहकारीका संघ तथा यसको नेतृत्वसँग सहकारी अभियानलाई अघि बढाउने क्षमता र भिजन नभएको बताउछन् । ‘अधिकांश केन्द्रीय संघहरु आफै सुशासनमा बस्न सकेका छैनन’ उनले भने, ‘यो अवस्थामा संघहरुले प्रारम्भिक संस्थालाई सहयोग गर्छन् भनेर विश्वास गर्न सकिदैँन ।’



Leave a comment