हाइलाइट

सहकारीका संघहरुबीच अपिल जारी गर्ने प्रतिस्पर्धा 

सहकारीका संघहरुबीच अपिल जारी गर्ने प्रतिस्पर्धा  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावका कारण प्रारम्भिक सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न समेत रकम अभाव हुन थालेको छ । समस्याग्रस्त सहकारीको संख्या बृद्धिले सहकारीप्रति सर्वसाधारणको विश्वास पनि घट्दो छ । नकारात्मक प्रचारले संस्थामा बचत फिर्ता माग्ने सदस्यको संख्या बढिरहेको छ । संस्थाहरुले सदस्यको माग अनुसार रकम फिर्ता गर्न सकेको छैनन् ।

तर, प्रारम्भिक संस्थाहरुलाई अप्ठेरोमा सहयोग गर्नुपर्ने छाता संघहरु भने अपिल जारी गर्ने प्रतिस्पर्धामा लागेका छन् । एकपछि अर्को गर्दै संघहरुले अपिल जारी गर्दै प्रारम्भिक संस्थाहरुलाई सल्लाह–सुझाव दिन मात्र सिमित देखिएका छन् ।

छुट्टाछुट्टै र संयुक्त रुपमा अपिल जारी गरेपनि उनीहरुले न संस्थालाई सहयोगको योजना दिन सकेका छैनन् न त समस्या समाधानका लागि स्पष्ट भिजन नै । अपीलमार्फत सहकारी सिद्धान्त, ऐन, कानुन कार्यान्वयका सुझावमार्फत दिएका छन् ।

सहकारी संघहरुको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघमार्फत नै अपिल जारी भएपछि पनि केन्द्रीय र जिल्लास्तरिय संघहरुले पनि छुट्टाछुट्टै तथा संयुक्त अपिल जारी गरेका छन् । सहकारीमा समस्या बढ्दै गएपछि महासंघले साउन १७ गते ९ बुँदे अपिल जारी गर्दै प्रारम्भिक संस्थाहरुलाई सल्लाह सुझाव दिएको थियो ।

उक्त अपील सम्पूर्ण सहकारी संघ / संस्था तथा सदस्यहरुलाई धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रूपमा कदम चाल्न अनुरोध गरिएको थियो । महासंघले बढि तरलताको ब्यवस्था गर्न, सरोकारवाला निकायसँग समन्वय गर्न, संस्थागत शुसासन कायम गर्नलगायतका सुझाव दिएको थियो ।

त्यसपछि साउन २० गते महासंघकै सदस्य रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) ले छुट्टै अपिल जारी ग¥र्यो । ७ बुँदे अपिलमा पनि संस्थाहरुलाई सहकारी ऐन कानुन, सिद्धान्त अनुसार काम गर्न, असुलीमा ध्यान दिनलगायतका सल्लाह -सुझाव दिन मात्र सिमित भएको छ ।

साउन २० गते जिल्ला सहकारी संघ काठमाडौंले पनि उत्तेजित नहुँन तथा धैर्यता कायम गर्न आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गर्यो । संघले भ्रमपूर्ण हल्लाको पछि नलाग्न र नआत्तिन आग्रह गरेपनि अप्ठ्यारोमा परेका संस्थाहरुलाई सहयोग गर्ने कुनै योजना अघि सारेको छैन । महासंघ तथा संघहरुले छुट्टाछुट्टै अपिल तथा विज्ञप्ती जारी गरेपछि साउन २२ गते फेरी महासंघलगायत १५ वटा संघहरुको नाममा १५ बुँदे अपिल जारी गरिएको छ ।

प्रारम्भिक संस्थाका संचालकहरुले नेतालाई हिजो अप्ठ्यारो अवस्थामा के गरिस् भनेर सोध्ने भएकाले देखाउनकै लागि अपिलहरु जारी भएको अर्का सहकारीकर्मीले बताए । नयाँ कुरा नभएपनि संघहरुले आफ्नो काम देखाउनका लागि छुट्टाछुट्टै अपील जारी गरेको उनले दावी गरे ।

नेफ्स्कून तथा कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, बाग्मती प्रदेश संघ, प्रदेश बचत संघका साथै उपत्यकाका तीन जिल्ला तथा काभ्रेका जिल्ला संघ, विषयगत संघ र विषयगत संघहरु सम्मिलित सहकारी संयन्त्रको निर्णय अनुसार भन्दै पत्रकार सम्मेलन गरेर जारी गरिएको अपिल पनि प्रारम्भिक संस्था र सरकारलाई सुझाव दिनलाई मात्र केन्द्रीत छ । संयुक्त अपिलमा सहकारी अभियानले तरलता अभाव, समस्याग्रस्त सहकारीको विषयमा के कस्तो सहयोग गर्दैछ भन्ने विषयमा केहि उल्लेख छैन भने ।

संयुक्त विज्ञप्तीपछि जारी भएकै साझ जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरले छुट्टै अपिल जारी गर्दै संयुक्त अपिलबारे संघलाई जानकारी नभएको प्रतिक्रिया दियो । तर, संयुक्त विज्ञप्तीमा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्षको भने हस्ताक्षर रहेको थियो ।

यसैगरी संयुक्त अपिलमा हस्ताक्षर गरेको काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले मंगलबार छुट्टै अपिल जारी गरेको छ । ११ बुँदे अपिल पनि संस्थाहरुलाई सल्लाह सुझाव दिन मात्र सिमित छ । संघहरुले ठूलै काम गरेजस्तो अपिल जारी गर्न प्रतिस्पर्धा गरेको सहकारीकर्मीले बताउदै आएका छन् । ‘यो बेला यसो गरो उसो गर भनेर राय सुझाव दिएर मात्र पुग्दैन’ एक सहकारीकर्मीले भने, ‘तर, एकल र संयुक्त रुपमा अपिल जारी गर्ने होडबाजी नै चलेको छ ।’

प्रारम्भिक संस्थाका संचालकहरुले नेतालाई हिजो अप्ठ्यारो अवस्थामा के गरिस् भनेर सोध्ने भएकाले देखाउनकै लागि अपिलहरु जारी भएको अर्का सहकारीकर्मीले बताए । नयाँ कुरा नभएपनि संघहरुले आफ्नो काम देखाउनका लागि छुट्टाछुट्टै अपील जारी गरेको उनले दावी गरे ।

यसअघि कोभिड–१९ को महामारीमा महासंघलगायत केन्द्रीय तथा जिल्ला संघहरुबिच अपिल जारी गर्ने प्रतिस्पर्धा चलेको थियो । तर, संस्थाका कर्मचारीहरुले कार्यालय संचालन गर्न सवारी पास समेत नपाउदा संघका नेताहरु लुकेर बसेको भन्दै सहकारीका कार्यक्रमहरुमा आलोचना हुने गरेको छ ।

पूर्व सहकारी रजिष्ट्रार तथा सचिव केदार न्यौपाने सहकारीका संघ तथा यसको नेतृत्वसँग सहकारी अभियानलाई अघि बढाउने क्षमता र भिजन नभएको बताउछन् । ‘अधिकांश केन्द्रीय संघहरु आफै सुशासनमा बस्न सकेका छैनन’ उनले भने, ‘यो अवस्थामा संघहरुले प्रारम्भिक संस्थालाई सहयोग गर्छन् भनेर विश्वास गर्न सकिदैँन ।’



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000