उच्च ब्याजमा बचत संकलन नगर्न अपिल

उच्च ब्याजमा बचत संकलन नगर्न अपिल :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले उच्च ब्याजदरमा निक्षेप संकलन नगर्न अपिल जारी गरेको छ । उच्च ब्याजमा निक्षेप नगर्ने र सन्दर्भ ब्याजदर कायम हुनेगरी बचत तथा ऋणको कारोबार गर्न संघले भनेको छ ।

प्रचलित ऐन, कानुन र नियमले तोकेको तरलता १५ प्रतिशत भन्दा कम हुन गएमा त्यसलाई कायम गर्न सञ्चालक, लेखासमिति तथा व्यवस्थापकले ऋण असुलीमा जोड दिनुपर्ने उल्लेख गरेको छ । १५ प्रतिशत भन्दा तरलता कम भएमा ऋण असुलीमा ध्यान दिनुका साथै बचत फिर्ता गर्दा सदस्यलाई जानकारी गराइ क्रमिकरुपमा फिर्ता गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

संस्थालाई अफ्ठारो नपर्नेगरी चरणबद्धरुपमा बचत फिर्ता गर्न संघले भनेको छ । सहकारी ऐन, नियमावली तथा निर्देशिकाहरु पूर्णरुपमा पालना गर्ने र बेलाबेलामा नियमनकारी निकायले जारी गरेका नीति र निर्देशन अनुशरण गरी कार्यान्वयन गर्न संघले भनेको छ ।

संस्थाको आय व्याय पारदर्शीरुपमा सदस्यमाझ राख्नुपर्ने, सदस्यलाई वास्तविक हकदार भनी सम्झाउने, क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने, बैठक नियमित बस्ने र साधारणसभा नियमित गर्न संघले अपिल जारी गरेको हो ।

कोपोमिसमा सहभागी हुने, सम्पत्ति सुद्धिकरण कार्यविधि लागू गर्ने, अन्य आन्तरिक कार्यविधि लागू गरी संस्था सञ्चालन गर्नुपर्ने अपिलमा भनिएको छ । तरलता संकटको अवस्थामा संघ साथमा रहने प्रतिवद्धता जनाइएको छ ।

कोभिड महामारी, रुस युक्रेन युद्ध, व्यापारघाटा, आयात निर्यात असन्तुलन, आकाशिदो मूल्यवृद्धिका कारण बैंक तथा वित्तीय संस्थासँगै सहकारी पनि संकटमा रहेकाले सचेतपूर्वक संस्था सञ्चालन गर्न आह्वान गरिएको छ।



Leave a comment