काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले उच्च ब्याजदरमा निक्षेप संकलन नगर्न अपिल जारी गरेको छ । उच्च ब्याजमा निक्षेप नगर्ने र सन्दर्भ ब्याजदर कायम हुनेगरी बचत तथा ऋणको कारोबार गर्न संघले भनेको छ ।
प्रचलित ऐन, कानुन र नियमले तोकेको तरलता १५ प्रतिशत भन्दा कम हुन गएमा त्यसलाई कायम गर्न सञ्चालक, लेखासमिति तथा व्यवस्थापकले ऋण असुलीमा जोड दिनुपर्ने उल्लेख गरेको छ । १५ प्रतिशत भन्दा तरलता कम भएमा ऋण असुलीमा ध्यान दिनुका साथै बचत फिर्ता गर्दा सदस्यलाई जानकारी गराइ क्रमिकरुपमा फिर्ता गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
संस्थालाई अफ्ठारो नपर्नेगरी चरणबद्धरुपमा बचत फिर्ता गर्न संघले भनेको छ । सहकारी ऐन, नियमावली तथा निर्देशिकाहरु पूर्णरुपमा पालना गर्ने र बेलाबेलामा नियमनकारी निकायले जारी गरेका नीति र निर्देशन अनुशरण गरी कार्यान्वयन गर्न संघले भनेको छ ।
संस्थाको आय व्याय पारदर्शीरुपमा सदस्यमाझ राख्नुपर्ने, सदस्यलाई वास्तविक हकदार भनी सम्झाउने, क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने, बैठक नियमित बस्ने र साधारणसभा नियमित गर्न संघले अपिल जारी गरेको हो ।
कोपोमिसमा सहभागी हुने, सम्पत्ति सुद्धिकरण कार्यविधि लागू गर्ने, अन्य आन्तरिक कार्यविधि लागू गरी संस्था सञ्चालन गर्नुपर्ने अपिलमा भनिएको छ । तरलता संकटको अवस्थामा संघ साथमा रहने प्रतिवद्धता जनाइएको छ ।
कोभिड महामारी, रुस युक्रेन युद्ध, व्यापारघाटा, आयात निर्यात असन्तुलन, आकाशिदो मूल्यवृद्धिका कारण बैंक तथा वित्तीय संस्थासँगै सहकारी पनि संकटमा रहेकाले सचेतपूर्वक संस्था सञ्चालन गर्न आह्वान गरिएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया