चीना थापा, विराटनगर । विराटनगरको तरकारी बजारलाई एकिकृत गर्ने र स्थानीय उत्पादनलाई बजारको पहुँच पुर्याउने उदेश्यका साथ करोडौं लगानीमा निर्माण गरिएको एकीकृत कृषि बजार अलपत्र परेको छ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले करिब १८ करोड रुपैयाँ लागतमा निर्माण गरेको बजारलाई २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अहिले बजारमा एक जना सुरक्षा गार्डबाहेक कोहि पनि भेटिदैन । बजारभित्र बालुवा नै बालुवा थुप्रिएको छ ।
कटहरीको जनप्रिय माविको नाममा रहेको ४ विगाहा १८ कठ्ठा र गाविसको नाममा रहेको १८ कठ्ठा जग्गामा संरचना निर्माण भएको छ । बैंक, कृषि उत्पादनको स्टोर, खुद्रा तथा थोकको छुट्टाछुट्टै भवन बनाएर स्टलहरूको ब्यवस्थापन गरिएको छ ।
विराटनगरको मुख्य बजारमा रहेको गुद्रीबजारलाई स्थानान्तरण गरी एकीकृत रुपमा अन्तर्राष्ट्रिय मोडलमा कृषि बजार संचालन गर्ने लक्ष राखिएको थियो । तर, संघिय सरकारले निर्माण गरेर प्रदेशलाई हस्तान्तरण गरेपछि कटहरी गाउँपालिका, विराटनगर महानगरपालिका र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा बजार लामो समयसम्म संचालन हुन सकेन ।
विराटनगर महानगरपालिकाका तत्कालिन मेयर भिम पराजुलीले अहिलेका मेयर नागेश कोइरालाको खाली जग्गामा गुद्री बजारलाई सारेका थिए । विराटनगर महानगरपालिकाले गुद्री अन्यत्रै संचालन हुन दिएपछि सरकारी दरमा एकीकृत कृषि बजार भाडामा लागेन ।
प्रदेश सरकारको स्वामित्वमा रहेको एकीकृत कृषि बजार संचालन गर्नेबारेमा धेरै चरण छलफल भएपनि स्थानीय सरकारले यसको महत्व बुझ्न नसक्दा र राजनीतिक प्रतिशोधका कारण पनि बजार अलपत्र परेको हो ।
एकीकृत कृषि बजार निर्माणपछि उत्साहित भएका स्थानिय पनि निराश बनेका छन् । आफ्नो गाउँमा एकिकृत कृषि बजार बनेपछि निक्कै चहल पहल, भिडभाड, सामान ल्याउने र लग्नेहरूलाई भ्याई नभ्याई स्थानीयलाई रोजगारी सिर्जना हुने लगाएतका आशा स्थानीयमा थियो ।
सहकारीले पनि सञ्चालन गर्न सकेन
प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली–२०७७ बनाएर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई संचालनको जिम्मा दिइएको थियो ।
एक बर्ष भाडा नलिने त्यसपछि वार्षिक १९ लाख २० हजार दिनेगरी सम्झौता भएको छ । सहकारीले लिएपछि कोरोना महामारी भन्दै लामो समयसम्म बजार सुरु हुन सकेन । कोरोनापछि केहि समय संचालन भएपनि हाल भने बन्द अवस्थामा छ ।
सम्झौतालगत्तै सहकारीले संरचना मर्मत गर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख रुपैयाँ बजेट माग गरेको थियो । सहकारीले जिम्मा लिएपछि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बलराम निरौलाको अध्यक्षतामा कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति समेत गठन गरिएको थियो ।
अहिले निरौला बाग्मती प्रदेशको सहकारी मन्त्रालयमा सरुवा भएका छन् । त्यसपछि आधिकारिक रुपमा अध्यक्ष नतोकिएको बजार व्यवस्थापक गणेश ढकालले जानकारी दिए । बजारमा बाढी पस्ने भएकाले बर्षात्को समयमा चलाउन समस्या हुने गरेको ढकालले बताए ।
‘सरकारसँग लिएपछि केही समय त हामीले सञ्चालन गर्यौं, तर अलि ठूलो पानी पर्ने वित्तिकै डुब्ने समस्याका कारण सञ्चालनमा समस्या भईरहेको छ’, उनले भने, ‘हामीले ९२ टन प्याज ल्याएर राखेका थियौं, त्यो पनि सबै पानी डुबेर विग्रियो । बजार सबै डुबेको कारणले सञ्चालन गर्न सक्ने अवस्था पनि छैन ।’
बजारमा बाढी पसेका कारण ५६ लाख बराबरको क्षति भएको उनले बताए । क्षतिको विवरण प्रदेश सरकारलाई बुझाएको र क्षति भएको रकम सरकारले दिएमा बजार फेरी सञ्चालन गर्न सकिने ढकालको भनाई छ ।
पानी नियन्त्रणको लागि वरिपरी वाल लगाईदिन प्रदेश सरकारलाई आग्रह गरिएको ढकालले बताए । प्रदेशले वालको लागि ५५ लाख बजेट छुट्याएको जानकारी दिँदै ढकालले समितिको अध्यक्ष आधिकारी रुपमा नतोक्दा कुनै पनि प्रक्रिया अगाडि बढाउन नपाएको बताए ।
एकीकृत कृषि बजार निर्माणपछि उत्साहित भएका स्थानिय पनि निराश बनेका छन् । आफ्नो गाउँमा एकिकृत कृषि बजार बनेपछि निक्कै चहल पहल, भिडभाड, सामान ल्याउने र लग्नेहरूलाई भ्याई नभ्याई स्थानीयलाई रोजगारी सिर्जना हुने लगाएतका आशा स्थानीयमा थियो ।
कटहरी गाउँपालिकाको कृषि बजार नजिकै घर भएका रामनारायण राजवंशीलाई कृषि बजार व्यवस्थित रुपमा संचालन हुन नसकेकोमा दुःख लागेको छ । राजवंशी हरेक दिन त्यही सडक भएर ओहोर दोहोर गर्छन् ।
बिहान–साँझ उनी त्यही एकीकृत कृषि बजारलाई नियालिरहेका हुन्छन् । ‘के सोचका थियौँ, अहिले भइदियो के,’ उनले भने, ‘हामीले सोचेको कृषि बजारमा धेरैतिरबाट सामानहरू आउनेछ, सबैले काम पाउनेछन् भन्ने सोचेका थियौँ, तर बजार पूर्ण रुपमा संचालनमा नै आउन सकेन ।’
Leave a comment