काठमाडौं । तरलता समस्याका कारण सहकारी संस्थाहरुलाई परेको समस्या समाधान गर्नका लागि ‘सहकारी सहजिकरण संयन्त्र’ गठन गरेका सहकारी संघहरु बचत फिर्ता गर्न नसकी कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको जिम्मेवारीबाट सहकारी अभियान पन्छिएको छ ।
संयन्त्रको निर्णय अनुसार भन्दै १५ वटा संघहरुले संयुक्त अपील जारी गर्न आईतबार भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलले गौतमश्री सहकारीको जिम्मेवारी राज्यको भएको बताए ।
‘त्यसको दायित्व र जिम्मेवारी राज्यको हो, हामीले रजिष्ट्रारलाई आवश्यक सुझाव दिएका छौं’ उनले भने, ‘राज्यले आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । ’ गलत काम गर्ने व्यक्तिलाई कारवाही गर्नका लागि अभियानले घच्घच्याउने उनले बताए ।
संयन्त्रका संयोजक राजेन्द्र पौड्यालले पनि राज्यले नियमन अनुसार कारवाही अघि बढाउनुपर्नेमा जोड दिए । महासंघले आफै वित्तीय कारोबार नगर्ने भएकाले वित्तीय सहजिकरण नगर्ने र सम्बन्धित विषयगत संघ तथा जिल्ला संघहरुमार्फत सहजिकरण गर्न सकिने बताए । तर, गौतमश्री सहकारी सहकारी अभियानका कुनै पनि संघहरुमा सदस्य छैन ।
सहजिकरण गर्दै जिल्ला बहुउद्देश्यीय संघ
यसै बिच काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले भने गौतमश्री सहकारीको समस्या समाधान गर्न सहजिकरण गर्न थालेको छ । संघका पूर्व अध्यक्ष तुलसीप्रसाद सापकोटाले गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमलाई भेटी संस्था जोगाउने ढाडस दिएका छन् ।
गौतमसँग भेटपछि सहकारी विभागका रजिष्ट्रारसग कुराकानी गरी अध्यक्ष सम्पर्कमा आएकाले खाता रोक्का फुकुवा खुल्ला गर्न आग्रह गरेको र राष्ट्रिय सहकारी बैंकमार्फत ऋण दिलाएर समस्या सल्टाउन पहल गर्ने आश्वासन दिएको सापकोटाले सहकारी अखबारसँग बताए ।
विभागले समस्याग्रस्त घोषणाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिसकेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गौतमश्री सहकारी समस्याग्रस्त घोषणाका लागि मन्त्रालयमा फाइल आइपुगेको जानकारी दिदै नियमानुसार अघि बढ्ने बताए ।
Leave a comment