काठमाडौं । सहकारी संस्था दर्तादेखि कार्यक्षेत्र र सेवाकेन्द्र विस्तारसम्म रोक लगाउन सहकारी अभियानले माग गरेको छ । राष्ट्रिय सहकारी महासंघ सहित १५ वटा संघको तर्फबाट संयुक्त अपील जारी गर्दै नगर क्षेत्रमा नयाँ सहकारी संस्था दर्ता, कार्यक्षेत्र, सेवाकेन्द्र र शाखा विस्तारमा रोक लगाउन सरकारसँग माग गरेको छ ।
नयाँ सहकारी संस्था दर्ताका साथै पुराना सहकारी संस्थाहरुको कार्यक्षेत्र, सेवा केन्द्र, शाखा विस्तारका कारण विभिन्न विकृती र समस्या देखिएको संयुक्त अपिलमा उल्लख छ । हाल संघिय सरकारले सहकारीको दर्ता कडाइ गरेपनि स्थानिय तथा प्रदेश सरकारले भने सहकारीको दर्ता गरिरहेका छन् ।
गत वर्षमात्र तीन सय भन्दा बढि संस्था दर्ता गरेर विवादमा तानिएको वागमती प्रदेश सरकारले भने केहि समयअघिदेखि बचत तथा ऋण सहकारीको दर्ता बन्द गरेको छ । तर, सहकारी क्षेत्रमा संस्था दर्ता, किबचे, कार्यक्षेत्र विस्तार तथा थप गर्ने नाममा विकृती बढिरहेको छ ।
संयुक्त अपिलमा सहकारी ऐन, नियम तथा निर्देशनका कारण केहि समस्या भएको भन्दै त्यसलाई अबिलम्ब सुधारका माग गरिएको छ । यस्तै सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउन, कर्जा सूचना केन्द्रलगायतका ब्यवस्था तत्काल कार्यान्वयन गर्न, सहकारीको सुशासनका लागि दोस्रो तहको नियामक निकाय गठन गर्न र गलत गर्ने ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अपील गरिएको छ ।
तरलताको संकटका कारण सहकारी संस्थाहरुलाई बचत फिर्ता गर्न समेत समस्या हुन थालेपछि सहकारी अभियानको तर्फबाट पहिलो पटक संयुक्त अपील जारी गरिएको छ । यसअघि महासंघ, नेफ्सकून, जिल्ला संघहरुले छुट्टाछुट्टै अपील जारी गरेका थिए ।
Leave a comment