काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताइन् ।
नेपालका लागि इजरायली राजदुत हनान गोडरसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागेको बताइन् ।
मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समेत उत्पादनलाई जोड दिएर वजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर आगाडी बढ्न सरकार लागिरहेको बताइन् ।
मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी र गरिवी निवारणका विविध क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले यी तीनवटै क्षेत्रमा महत्वपूर्ण नीति तथा कार्यक्रमको सुरुवात गरेको बताइन् ।
कृषि, भूमि व्यवस्था लगायतका क्षेत्रमा इजरायलले गरेको उत्कृष्ट र उदाहरणीय अभ्यासका विषयमा दुइदेशबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुन सक्दा दुवै देशका लागि लाभ हुन सक्ने विश्वास व्यक्त गरिन् ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइन् ।
इजरायली राजदूत हनान गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै संभावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताए ।
नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको बताए । नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाइ राख्न लागि परेको उनको भनाइ छ ।
Leave a comment