काठमाडौं । तरलता अभावको कारण समस्याग्रस्त हुने सहकारीको संख्या बढ्दै गएपछि सहकारी संघसंस्थाहरुको छाता निकाय राष्ट्रिय सहकारी महासंघले अपिल जारी गरेर जिम्मेवारीबाट पन्छिएको छ । सहकारी संस्थाका संचालकहरुले समस्या परेका बेला महासंघले अभिभावकत्व नलिएको र समाधानका लागि पहल नगरेको गुनासो गरिरहेको बेला महासंघले सचेत रहन भन्दै अपिल मात्र जारी गरेर जिम्मेवारीबाट पन्छिएको हो ।
महासंघका अध्यक्ष मिनराँज कडेँलको हस्ताक्षरमा मगंलबार जारी अपिलमा कोभिड–१९ को महामारी, रूस–युकेन युद्धसँगै बस्तु तथा सेवाहरूको मुल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभाव भएको तथा यसैको असरले कतिपय सहकारी संस्थामा समेत तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भईरहेको तथ्य सार्वजनिक भएको उल्लेख गर्दै सहकारी संस्थाहरुलाई ९ वटा बुँदामा सल्लाह सुझाव मात्र दिएको छ । विज्ञप्तीमार्फत प्रारम्भिक संस्थाहरुलाई सल्लाह– सुझाव दिएर महासंघ नेतृत्व जिम्मेवारीबाट पन्छिन खोजेको सहकारीकर्मीहरुको आरोप छ ।
‘यो बेला यसो गरो उसो गर भनेर राय सुझाव दिएर मात्र पुग्दैन’ एक सहकारीकर्मीले भने, ‘समस्या समाधान गर्नका लागि महासंघ आफैले नेतृत्व लिनुपर्छ ।’
सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुमा धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रूपमा कदम चाल्नुहुन अनुरोध गर्दै महासंघले बढि तरलताको ब्यवस्था गर्न, सरोकारवाला निकायसँग समन्वय गर्न, संस्थागत शुसासन कायम गर्न सुझाव दिएको छ ।
घरजग्गालगायत अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानीका कारण अर्थतन्त्रमा समस्या आएको विश्लेषण भइरहेका बेला यस्तो लगानीलाई महासंघले घुमाउरो ढंगले वकालत गरेको छ । महासंघको विज्ञप्तीमा परिस्थिति सहज नहुदासम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न अनुरोध गरिएको छ ।
यस्तै महासंघले प्रभावकारी असुलीमा केन्द्रित हुन, तालिम तथा स्तरीकरण कार्यक्रममा सहभागि हुन, सहकारी अभियानभित्रै कारोबार गर्न समेत आग्रह गरिएको छ ।
महासंघले ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोवार गर्न समेत सर्वसाधारणलाई अपिल गरेको छ ।
सहकारी अखबारसँगको कुराकानीका क्रममा महासंघका अध्यक्ष मिनराज कडेँलले समस्याको अध्ययन गर्न, संस्थाहरुलाई आवश्यक सहयोग गर्न प्राविधिक कमिटि गठन गर्ने बताए पनि अपिलमा भने उक्त विषय समेत घोषणा भएको छैन ।
यसअघि कोभिड महामारीमा पनि महासंघले यस्तै अपिल जारी गरेको थियो । तर, सहकारी संस्थाहरुले कार्यालय संचालन गर्न सवारी पास नपाउदा समेत महासंघले लविङ गर्न नसकेको भन्दै आलोचना भएको थियो ।
पूर्व सहकारी सचिव केदार न्यौपानले सहकारी क्षेत्रमा समस्या समाधानमा संघहरुले नेतृत्वप लिन नसक्ने बताउछन् । ‘अधिकांश केन्द्रीय संघहरु नै सुशासनमै नभएकाले यिनीहरुले प्रारम्भिक संस्थाका समस्या समाधान गर्लान् भनेर विश्वास गर्न सकिदैँन’ उनले भने ।

Leave a comment