गौतमश्री सहकारी प्रकरण : २ सय ५० जनाले दिए उजुरी

गौतमश्री सहकारी प्रकरण : २ सय ५० जनाले दिए उजुरी :: Sahakari Akhabar

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका सदस्यले सहकारी विभागमा निक्षेप फिर्ता नपाएको उजुरी दिएका छन् । सहकारी विभागका अनुसार हालसम्म २ सय ५० जनाले फिर्ता नपाएको उजुरी दिएका छन् ।

५ बजेसम्म पनि धेरै सदस्यले विभागको प्रांगणमा उजुरी दिइरहेको उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए । ‘उजुरी लेख्ने क्रम जारी नै छ, कति सदस्यले कति रकम ठगिएको उजुरी प¥यो, अहिले नै भन्न सकिने अवस्था छैन’ उनले भने ।

संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्क विहिन भएपछि पीडित सदस्य आइतबार बिहानै विभाग पुगेका थिए । संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत अन्य सञ्चालक तथा उच्चपदस्थ कर्मचारी पनि फरार छन् । उपरजिष्ट्रार उपाध्यायले उजुरी दिने क्रम बढ्दै गएकाले ठगिएको रकम र संख्याबारे यकिन गर्न केही दिन लाग्ने बताए ।

सञ्चालक सम्पर्क विहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको छ । अध्यक्ष गौतमको निजी व्यवसाय तथा भवनमा पनि बैंकले लगानी छ । व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । संस्थामा २५ हजार सदस्य रहेको बुझिएको छ ।

सहकारी विभागले कानुन अनुसार प्रक्रिया अघि बढाउने उपरजिष्ट्रार उपाध्याय बताउँछन् । ‘प्रहरीको सहयोग लिएर सञ्चालक, व्यवस्थापकलाई झिकाएर छलफल गर्ने, के कति कारणले फिर्ता नगरेको सोध्नुका साथै उजुरीका आधारमा कारवाहीका लागि सिफारिस गर्छौ’ उपाध्यायले भने ।

समस्याग्रस्तमा जाने कि अर्को विधिमा जाने अहिल्यै टुंगो नलागेको उनले बताए । ‘अरु सदस्य सक्रिय भएर आएमा सहकारी सञ्चालन हुनसक्छ,’ उनले भेन, त्यसो नभएमा समस्याग्रष्त घोषित गर्नका लागि मन्त्रालयमा पठाउँछौं ।’

मन्त्रालयले हालसम्म १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । गौरी कार्की संयोजकत्वको सहकारी जाँचबुझ आयोगले १ सय ५२ वटा सहकारी समस्यामा रहेको प्रतिवेदन दिएको थियो । विभागका अनुसार गत आर्थिक वर्षमा निक्षेप फिर्ता नलिएको लगायत विभिन्न प्रकृतिका ३ सय भन्दा बढी उजुरी आएका छन् ।

गौतमश्रीसँगै पछिल्लो समय सहकारीमा बढ्न थालेको छ । धेरै सहकारीलाई निक्षेप फिर्ता गर्न सकस भइरहेको छ । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था, क्षेत्रपाटीको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले निक्षेप फिर्ता नदिएको सदस्यको गुनासो छ ।



Leave a comment