३५ लाखमा बहुउद्देश्यीय सहकारी बिक्रीमा !

३५ लाखमा बहुउद्देश्यीय सहकारी बिक्रीमा ! :: Sahakari Akhabar

काठमाडौं । सहकारी किनबेच गर्न नपाइने कानुनी प्रावधान विपरित खुलेआम किनबेच हुने गरेको छ । सहकारी चाहिएको मात्र नभई सञ्चालन गर्न नसकी बिक्री गर्न लागिएको सूचना सामाजिक सञ्जालमा बारम्बार आउने गरेका छन् ।

कलंकीको वाफलमा रहेको एक बहुउद्देश्यीय सहकारी ३५ लाखमा बिक्री गर्ने भन्दै सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएको छ । ‘सञ्चालक सेयर बिक्रीमा, विगत १५ वर्षदेखि निरन्तर चलिरहेको काठमाडौं जिल्ला कार्यक्षेत्र रहेको बहुउद्देश्यीय सहकारीको सञ्चालक सेयर बिक्रीमा रहेकाले इच्छुक व्यक्तिले सम्पर्क गर्न नम्बरसहित सूचनामा अनुरोध गरिएको छ ।

सूचनामा दिइएको नम्बरमा किन्न इच्छुक भएर कुराकानी गर्दा ८० लाखको वित्तीय विवरण रहेको ती व्यक्तिले बताए । सञ्चालकबीच कुराकानी नमिलेकाले बेच्नुपरेको उनको भनाइ छ । १५ लाख एसेट्स, ३२ लाख ऋण र ५÷७ लाख घाटामा रहेको संस्था रहेकाले ३५ लाख पाएमा बिक्री गर्ने ती व्यक्तिले बताए ।

संस्थाको दुई वटा सेवा केन्द्र पनि स्विकृत छन् । यो संस्था बागमती  प्रदेशको कार्यक्षेत्र भित्र पर्दछ । ‘मैले हो सबै गरिदिने काम, मामाहरु हुनुहुन्छ, मेरो पनि सेयर छ’ ती व्यक्तिले भने,‘मैले मिलाइदिने हो, सवै मैलेनै हेरेको छु । माइन्युन्ट गरेर संस्था बेच्ने हो ।’ 

उनका अनुसार सबै ८ जना राजी भएका छन् । अध्यक्ष र सचिवको कुरा नमिलेका कारण अहिलेलाई संस्था बेचौँ भन्ने योजना बनेको उनले बताए । ‘राम्रो मान्छे आए हामी पनि मिसिन तयार छौं’ उनले भने । ती व्यक्तिका अनुसार हजारदेखि १५ सयसम्म सक्रिय सदस्य छन् । दैनिक दुई लाख संकलन हुने गरेको उनले जानकारी दिए ।

ती व्यक्तिका अनुसार अध्यक्ष र सचिवको लगानीको कुरा नमिलेकाले माइन्युट गराएर बिक्री गर्न लागेको उनले बताए । ‘किनबेच भन्ने हुँदैन तर वकिलको सहायताले कारोबार गर्न सकिन्छ’, तलमाथि हुँदैन, आत्तिनुपर्दैन । हामी पनि संस्थाको मान्छे हो, संस्थाको माया छ’ उनले भने । 
 


 



Leave a comment