काठमाडौं । सन्दर्भ ब्याजदर सिफारिस समितिको बैठक साउन २५ गतेभित्र बस्ने भएको छ । समितिको सदस्य तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले शुक्रबार आयोजित एक कार्यक्रममा ब्याजदरको समिक्षाका लागि बैठक बस्ने लागेको जानकारी दिइन् ।
बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि भएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन दवाव छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि सन्दर्भ ब्याजदर बढाउन सहकारीकर्मीहरुले माग गरिरहेका छन् ।
पछिल्लो पटक गत फागुन १३ गते बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको थियो । उक्त बैठकले नै प्रत्येक चार–चार महिनामा समितिको बैठक बसेर ब्याजदरलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । तर, साढे ४ महिना वितिसक्दा पनि समितिको बैठक बस्न सकेको छैन ।
यसअघि सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेको भन्दै सहकारीकर्मीहरुले पनि सन्दर्भ ब्याजदर बढाउन दवाव दिएका थिए ।
सन्दर्भ ब्याजदर बढाउन सरकारी पक्षले आनाकानी गरेसँगै राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा आन्दोलन समेत भएको थियो ।
तरलता अभावको समस्या गहिरिदै गएपछि पछिल्लो समय काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रका सहकारीहरुलाई बचत फिर्ताका लागि समेत कठिनाइ हुन थालेको छ ।
Leave a comment