काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको संचालक समेत रहेकी अमरावती वलामी महर्जनले नेतृत्व गरेको उपासना महिला बचत तथा ऋण सहकारी कानुन विपरित कारोबारमा सक्रिय रहेको भेटिएको छ । सहकारीले निक्षेप संकलन केन्द्र संचालन गर्नेबारे कुनै कानुनी प्रावधान नभएपनि उपासनाले भने नियामक निकायबाट स्विकृती नै नलिई दुई वटा केन्द्र खोलेर बचत संकलन तथा ऋण लगानी गरेको पाइएको छ ।
पछिल्लो पटक संस्थाले स्थापना दिवसका अवसर पारेर नागार्जुन नगरपालिका अन्र्तगत रानीवनमा दोस्रो निक्षेप संकलन केन्द्रको औपचारिक सुरुवात गरेको छ । गत माघ १६ गतेबाटै कारोबार सुरु गरेको केन्द्रको गत शुक्रबारमात्र औपचारिक उद्घाटन गरिएको थियो । केन्द्रको नेफ्स्कूनकै बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका हुन् ।
केन्द्रबाट संस्थाले ३ सय ७० जनालाई सदस्य बनाउनुका साथै एक करोड रुपैयाँभन्दा बढि कारोबार गरिसकेको छ । यसअघि नै संस्थाले रामकोटमा निक्षेप संकलन केन्द्र खोलेको छ । संघिय सहकारी ऐन तथा नागार्जुन नगरपालीको सहकारी ऐनमा सहकारी संस्थाहरुले निक्षेप संकलन केन्द्र खोल्नेबारे कुनै प्रावधान छैन । तर, उपासनाले भने नियामक निकायलाई समेत जानकारी नदिइ आफुखुशी केन्द्र संचालन गरेको हो ।
उपासना नागार्जुन नगरपालिका अन्तर्गत रहेको महिला सहकारी संस्था हो । नगरपालीकाकी सहकारी शाखा प्रमुख सिता अर्यालले निक्षेप संकलन केन्द्र संचालनका लागि कुनै संस्थालाई स्विकृती नदिएको बताइन् । ‘नगरपालीकाको सहकारी ऐनमा निक्षेप संकलन केन्द्र संचालन गर्न पाउने ब्यवस्था छैन’ उनले भनिन्, ‘कुनै सहकारीलाई पनि केन्द्र संचालन केन्द्रको स्विकृती दिएको छैन भने संचालन गरेको हामीलाई जानकारी पनि छैन।’
उपसानाले केन्द्र संचालन गरेको विषयमा संचारमाध्यबाट जानकारी भएको भन्दै यसबारेमा अनुसन्धान भइरहेको बताइन् । ‘मैले पनि समाचारबाट यसबारे सुनेको हो, वास्तविकता के हो बुझ्दैछौं ।’ संस्थाकी अध्यक्ष महर्जन भने सदस्यहरुको मागको आधारमा साधारणसभाबाट निर्णय गरेर केन्द्र संचालन गरिएको र त्यसको जानकारी वडा कार्यालयलाई दिइएको दावी गछिन् । रानिवन निक्षेप संकलन केन्द्रको बारेमा भने आगामी साधारणसभाबाट निर्णय गर्ने र त्यसपछि वडा कार्यालयसँग समन्वय गर्ने उनले बताइन् ।
सदस्यहरुलाई कारोबार गर्न संस्थाको कार्यालय आउन ग्राहो भएपछि केन्द्र संचालन गरिएको मर्हजनले दावी गरिन् । महिला सदस्यहरुसँग लघुवित्तको समेत कारोबार गर्दै आएको संस्थामा हाल शेयर पुँजी २ करोड र कारोबार रकम १५ करोड र सेयर सदस्य ४ हजार ५ सय जना पुगेका छन् ।
संघिय सहकारी ऐनमा सहकारीले सेवाकेन्द्र संचालन गर्नसक्ने प्रावधान राखिएको छ । त्यसै अनुसार प्रदेश र स्थानिय तहका ऐनमा पनि उक्त ब्यवस्था छ । तर सहकारी संस्थाहरुले अनेक नामदिएर शाखा चलाउने प्रवृति बढेका छन् ।
Leave a comment