जग्गा लिलामी गरेर ऋण उठाउदै जिल्ला संघ बाँके,  हुदै नभएको कर्जा सूचना केन्द्रमा कालो सूचीमा राख्ने चेतावनी 

जग्गा लिलामी गरेर ऋण उठाउदै जिल्ला संघ बाँके,  हुदै नभएको कर्जा सूचना केन्द्रमा कालो सूचीमा राख्ने चेतावनी  :: Sahakari Akhabar

नेपालगञ्ज । जिल्ला सहकारी संघहरुले अन्तरलगानी गर्न नहुने विषयमा बहस भइरहेका बेला जिल्ला सहकारी संघ बाँकेले गरेको एउटा ऋण असुली गर्न धितो लिलाम गर्नुपर्ने अवस्था भएको छ । संघले संस्थाको अवस्था मूल्यांकन नगरी लगानी गर्नुका साथै ऋणको प्रभावकारीताको नियमन गर्न नसक्दा धितो लिएको सम्पति नै लिलामी गर्नुपर्ने अवस्थामा पुगेको छ ।

लामो समयसम्म ऋणको साँवा तथा ब्याजको किस्ता नतिरेपछि संघले धितो लिलामी प्रक्रिया अघि बढाएको छ । ३५ दिने सूचना जारी गर्दै संघले धितो लिलामी साथसाथै कर्जा सूचना केन्द्रमा कालो सूचीमा राख्ने चेतावनी समेत दिएको छ । जबकी हालसम्म सहकारीमा कर्जा सूचना केन्द्र स्थापना भएको छैन भने खराब ऋणीलाई कालोसूचीमा राख्ने ब्यवस्था पनि छैन ।

संघले प्रकाशित गरेको सूचना अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थाको धितो लिलामी गर्न लागेको हो । ऋण प्रवाह गर्दा अध्यक्ष कृष्णकुमार श्रेष्ठको जग्गा धितोमा राखेको थियो । पटकपटक ताकेता गर्दा पनि सावाँ, ब्याज र अन्य दस्तुर सहकारीले नतिरेकाले लिलामी प्रक्रिया अघि बढाईएको संघले जनाएको छ ।

‘सम्पत्ति जहाँ जे छ, गोप्य बोलपत्रका आधारमा गोप्य लिलामी प्रक्रिया गरी बिक्री वितरण गरिनेछ’ सूचनामा उल्लेख छ । संघका अध्यक्ष प्रेम सुवेदी संस्थामा समस्या आएपछि बचाउनका लागि ऋण लगानी गरिएपनि संस्था रिकोभर पनि नभएको र ऋण समेत समस्याग्रस्त भएको स्विकार गरे ।

‘संस्थामा तरलताको समस्या भएपछि हामीले ऋण दिएका थियौं’ उनले भने, ‘ऋणबाट बचतकर्ताको पैसा फिर्ता गर्यो, तर संस्था भने रिकोभरी हुन सकेन, ऋण नतिरेपछि असुलीको प्रक्रिया अघि बढेको हो ।’ ऋण नतिर्ने संस्था तथा संचालकहरुलाई संघमा कालोसूचिमा राख्ने भनेपनि सूचनामा फरक परेको उनले स्वीकार गरे ।

सूचना अनुसार संघले नेपालगञ्ज महानगरपालिका–२ मा रहेका कित्ता नम्बर ६ को जग्गा र त्यसमा बनेको घरसमेत लिलामी गर्न लागेको छ । ९८.४० वर्गमिटरको जग्गाको लिलामी सकार गर्न बोलपत्र भदौ १५ गते दिउँसो ३ बजे खुल्नेछ । 

सूचनामा कुबेर सहकारीका सञ्चालकहरुको नाम पनि सार्वजनिक गरेको छ । जसमा सचिव विकास राज भण्डारी, कोषाध्यक्ष सकुन्तला देवी आले, सदस्यमा पुरनबहादुर थापा, निजामुद्धिन सिद्धिकी, सौगात श्रेष्ठ र मनु श्रेष्ठ हुन् । लेखा समितिको संयोजकमा गुलाम हुसेन सेख र सदस्यमा रवितलाल श्रेष्ठ, दिपा श्रेष्ठ रहेका छन् ।



Leave a comment