मौरीपालन केन्द्रीय संघको गुपचुप साधारणसभा : पुस २८ मा उद्घाटन, असार १२ मा निर्वाचन

मौरीपालन केन्द्रीय संघको गुपचुप साधारणसभा : पुस २८ मा उद्घाटन, असार १२ मा निर्वाचन :: Sahakari Akhabar

काठमाडौं । समयमा साधारणभा समेत गर्न नसकी निश्कृय बनेको नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले साधारणसभा तथा निर्वाचन समेत गुपचुप ढंगले गरेको छ । नेतृत्व चयनमा विवाद भएपछि संघले साधारणसभा उद्घाटन भएको ६ महिनापछि निर्वाचन गरेको हो ।

संघले साधारणसभाको उद्घाटन पुस २८ गते काठमाडौंमा गरेको थियो । त्यसको ६ महिनापछि असार १२ गते चितवनमा निर्वाचन भएको छ । त्यतिबेलै वैशाख १५ गते तय भएको निर्वाचन स्थानीय तह निर्वाचनको आचारसंहिताका कारण स्थगित हुन पुगेको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाई चितवन पुगेर संघको विवाद मिलाउँदै सर्वसम्मत नेतृत्व चयन गराएका थिए । नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष अर्जुन पोखरेल र तत्कालीन महासचिव शम्भुबहादुर कार्की आकांक्षी थिए । पोखरेल दुई कार्यकाल गरी ७ वर्ष नेतृत्व गरिसकेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष शम्भुबहादुर कार्कीले पुस २८ गते उद्घाटन सत्र सकिए पनि कोरम नपुगेपछि बन्दसत्र हुन नसकेको बताए । त्यतिबेलै वैशाख १५ गते साधारणसभा गर्ने निर्णय भएको उनले बताए । तर, स्थानीय निर्वाचनको आचारसंहिताका कारण उक्त दिन निर्वाचन हुन सकेन । अध्यक्ष कार्कीले ५१ वटा संस्थाको उपस्थितिमा निर्वाचन सम्पन्न भएको बताए ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए । त्यतिबेला कोभिडको जोखिम बढेकाले साधारणसभा स्थगित भएको उनले बताए । ‘पछि युरोप गएका बेला नयाँ नेतृत्व चयन भएको रहेछ’ उनले भने ।

तत्काली अध्यक्ष पोखरेल र महासचिवबीच टकराव हुँदा संघ निश्क्रियजस्तै थियो । संघले लामोसमयसम्म गतिविधि अघि बढाउन सकेन । पछिल्ला समयमा अध्यक्ष र महासचिवबीच मिलन भएपछि नयाँ नेतृत्व चयन गर्दा कार्कीले नै पोखरेललाई दोहो¥याउन चाहेका थिए । ‘निर्वाचन नजिकिदैँ जाँदा सुरुमा मैले पोखरेल सरलाई नै समर्थन गरेको थिएँ, पछि माहोल अर्कैै भएपछि मेरो रुची नहुँदा नहुँदै पनि जिम्मेवारी बहन गरेको हुँ’ कार्की भन्छन् ।

पोखरेलको पक्षमा सर्वसम्मत हुन नसकेपछि कार्कीलाई अघि सारिएको थियो । निवर्तमान अध्यक्ष पोखरेलले साधारणसभा तथा निर्वाचन हल्ला नगरी सम्पन्न गरेको बताउँछन् । ‘विवाद हुने, के हुने भएकाले सहज परिस्थिति नभएकाले हल्ला नगरिएको हो’ उनले भने ।

कोको भए निर्वाचित ?

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघमा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निवर्तमान अध्यक्ष पदेन बस्ने व्यवस्था छ । उपाध्यक्षमा जानुका थापा, महासचिव कृष्णहरि जमरकेट्टल, कोषाध्यक्षमा बासु घिमिरे निर्वाचित भएका छन् ।

सदस्यमा खेमराज घिमिरे, गणेश अधिकारी, निर्मल त्रिपाठी, ज्ञानेन्द्र आचार्य र मणि गिरी निर्वाचित भएका छन् । लेखा समिति संयोजक तेजप्रसाद वडुवाल र सदस्यमा राधिका कटवाल र शिव पाण्डे निर्वाचित भएका छन् ।



Leave a comment