काठमाडौं । सहकारीमा लागू गरिएको सन्दर्भ ब्याजदर प्रत्येक चार–चार महिनामा पुनरावलोकन गर्न सहमति भएपनि ब्याजदर निर्धारण समितिको मिटिङ भने अनिश्चित बनेको छ । समितिको संयोजक समेत रहेका संघिय सहकारी विभागका रजिष्ट्रारले चासो नदिदा समितिको बैठक अनिश्चित बनेको हो ।
पछिल्लो पटक गत फागुन १३ गते बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको थियो । उक्त बैठकले नै प्रत्येक चार–चार महिनामा समितिको बैठक बसेर ब्याजदरलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । तर, साढे ४ महिना वितिसक्दा पनि समितिको बैठक बस्न सकेको छैन ।
‘समितिको बैठक बोलाउनका लागि हामीले पटक पटक ताकेता गरिरहेका छौं’ समितिमा राष्ट्रिय सहकारी महासंघको तर्फबाट सदस्य रहेकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले भनिन्, ‘तर रजिष्ट्रारज्यूले बैठक बोलाउन चासो देखाउनु भएको छैन ।’
यसैगरी सन्दर्भ ब्याजदरलाई बजारको ब्याजदरका आधारमा स्वचालित बनाउने योजना पनि अलपत्र परेको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा कार्यान्वयनमा देखिएको विवाद मिलाउनेतर्फ चासो दिएको छैन ।
यसअघि सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेको भन्दै सहकारीकर्मीहरुले पनि सन्दर्भ ब्याजदर बढाउन दवाव दिएका थिए ।
सन्दर्भ ब्याजदर बढाउन सरकारी पक्षले आनाकानी गरेसँगै राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा दवावमुलक कार्यक्रम समेत भएको थियो ।
तरलता अभावको समस्या लम्बिदै गएपछि बैंकहरुको ब्याजदर पनि बृद्धि भइरहेको छ । तर, सहकारीमा भने बजारको अवस्थाको आधारमा सन्दर्भ ब्याजदर पुनरावलोकन नभएको भन्दै सहकारीका संचालकले विरोध जनाउदै आएका छन् ।
सन्दर्भ ब्याजदर सहकारी संस्थाहरुको ऋण लगानीको ब्याजको अधिकतम सिमा भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तरलता अभावको कारण देखाउदै सहरी क्षेत्रमा संचालित संस्थाहरुले तोकिएको भन्दा उच्च ब्याज असुली गर्दै आएका छन् ।
Leave a comment