काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जस्तै बचत तथा ऋण सहकारीमा पनि स्रोत ब्यवस्थापनमा चूनौति देखिएको छ । सहकारी संस्थाहरुले बचत संकलनको तुलनमा उच्च कर्जा प्रवाह गर्दा तरलताको अभाव देखिएको हो ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहकारी संस्थाहरुमा बचत संकलन बृद्धिको तुलनमा तेब्बर कर्जा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पुसम्ममा सहकारी संस्थाहरुले ११.४० प्रतिशत बचत बृद्धि हुँदा ऋणको बृद्धि भने ३१.१९ प्रतिशत भएको छ ।
गत आर्थिक वर्षमा भने सहकारीमा कर्जा लगानीको तुलनामा बचत संकलन उच्च रहेको थियो । गत आवको पुसमा सहकारीहरुमा २८.५९ प्रतिशतले बचत वृद्धि हुँदा कर्जा प्रवाह भने १६.०५ प्रतिशतले मात्र बृद्धि भएको थियो ।
यसैगरी सहकारीहरुको पुँजीको बृद्धि पनि खुम्चिएको छ । गत आवमा सहकारीहरुमा २२.१७ प्रतिशतले पुँजी बृद्धि भएकोमा चालु आवमा १५.८० प्रतिशतमा सिमित भएको छ ।
राष्ट्र बैंकले प्रत्येक प्रदेशका १०÷१० वटा बचत तथा ऋण सहकारीहरुलाई छनोट गरी सहकारीको कारोबार अवस्थाबारे विश्लेषण गरेको थियो । राष्ट्र बैंकको अध्ययनमा सहकारीको बचत बृद्धिदर सबैभन्दा कम बागमती प्रदेशमा देखिएको छ । वागमती सबैभन्दा धेरै सहकारीको बाहूल्यता रहेको तथा बढि कारोबार भएको प्रदेश हो । यस्तै सबैभन्दा बढि बचतको बृद्धिछ प्रदेश नं एक मा भएको छ ।
कर्जा प्रवाहमा पनि अग्रस्थानमा प्रदेश नं एक नै देखिएको छ । यस प्रदेशमा सहकारीको कर्जा प्रवाह करिब ५० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना महामारीका कारण गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुसँगै सहकारीहरुले पनि कर्जा लगानी गर्न सकेका थिएनन् । तर, चालु आवमा भने बैंकहरुजस्तै सहकारीहरु पनि कर्जा प्रवाहमा आक्रामक बनेका थिए ।
तर, वित्तीय संस्थाहरुको कर्जा विस्तारको तुलनामा निक्षेप संकलन नहुँदा तरलताको अभाव भोगिरहेका छन् । तरलता अभावकै कारण पछिल्लो समय सदस्यको बचत नै फिर्ता गर्न नसकि समस्याग्रस्त हुने सहकारीहरुको संख्या बृद्धि भइरहेको छ ।
Leave a comment