सदस्यले विश्वास नगर्दा सहकारीमा समस्या

सदस्यले विश्वास नगर्दा सहकारीमा समस्या :: Sahakari Akhabar

काठमाडौं । तरलता अभाव चुलिदैँ गर्दा सदस्यले सहकारीको विश्वास गर्न छाडेका छन् । जसका कारण सहकारी समस्याबाट उम्किन सकेका छैनन् । 

सदस्यले निक्षेप फिर्ता लगेर बैंकमा राख्न खोज्ने प्रवृति बढ्दै गएको सहकारीकर्मी गुनासो गर्छन् । पैसा निकाल्ने क्रम बढ्दै जाँदा पैसा फिर्ता दिन नसक्ने स्थितीमा सहकारी पुगेका छन् । 

सदस्यले लगेको ऋण उठ्न सकस परिरहेका बेला निक्षेपकर्ताले आफ्नो बचत फिर्ता दिन दवाव दिन थालेपछि सहकारीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । 

संस्थाले सदस्यलाई विश्वास दिलाउन नसक्दा र केही संस्थाहरु भाग्न थालेपछि समग्र अभियानमा नकारात्मक प्रभाव परेको ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाइ बताउँछन् ।

सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । धेरै सहकारी हुँदा पनि भ्रदगोल हुन पुगेको छ । एकीकरण गर्नुपर्ने नीति लिए पनि अपेक्षाकृत एकीकरण हुन सकेको छैन । 

बलियो संस्था बनाउन एकीकरणमा जोड दिनुपर्ने र राष्ट्रिय अभियानकै रुपमा अघि बढाउनुपर्ने बजगाई बताउँछन् । ३० हजार सहकारीमध्ये एकीकरण गरी १ हजार ५ सय सहकारी भए पुग्ने बजगाइ बताउँछन् । 

सबै सहकारीले बचत मात्रै गर्दा पनि भद्रगोल भएको उनको भनाइ छ । कृषिले बचत, पर्यटनले बचत, बहुउद्देश्यीयले बचत, कृषिका विभिन्न विषयवस्तुका सहकारीले पनि बचत गर्दा कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढ्न सकेको छैन  ।

अभियान हाक्ने नेतृत्वकै सहकारीमा समस्या देखिन थालेको छ । तर, सहकारीमा विकृति र विसंगति बढ्दै जाँदा नियमक निकाय र अभियानले कुनै योजना बनाउन सकेका छैनन् ।

अभियान हाक्ने मान्छेले आफ्नै सहकारी जोगाउन नसक्दा कसरी नेतृत्वदायी हल गर्न सक्छ ? भन्ने गम्भीर प्रश्न चिन्ह खडा हुन लागेका राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका बजगाई बताउँछन् । ‘अब गम्भीर भएर नसोच्ने हो भने ठूलो संकट आउन सक्छ ।’ बजगाई भन्छन् ।

सहकारीमा जोखिम बढ्दै जाँदा अब अभियानले थेग्न सक्ने नस्थिति स्थिती देखिएको अभियान्ताहरु नै बताउँछन् ।  सबै संस्थामा पैसा चाहिएकाले संकट देखिएको बैंकका सञ्चालक बजगाई बताउँछन् । 
 



Leave a comment