काठमाडौं । संघिय सहकारी विभागले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) तीन दर्जन विवरण मात्र भर्नुपर्ने ब्यवस्था गरेको छ । सहकारी संघसंस्थालाई कोपोमिसमा आवद्ध भई सूचना बुझाउनका लागि सहजिकरण गर्दै विभागले संघसंस्थाको समष्टिगत रुपमा तीन दजर्न मात्र विवरण राख्ने व्यवस्था गरेको हो ।
विभागका अनुसार सहकारी संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र, कुल कारोबारको अवस्था, अध्यक्ष तथा तथा ब्यवस्थापनको नाम लगायतका विवरणहरु भर्नुपर्छ । यसअघि कोपोमिसमा सहकारी संस्थाहरुले सदस्यको नागरिकता नम्बर समेत भर्नुपर्ने व्यवस्था गरिएको थियो ।
कोपोमिसमा संस्थाहरुको आवद्धता बढाउनका लागि सहजिकरण गरिएको विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए । ‘अहिले कोपोमिसलाई परिमार्जन गरि समष्टिगत विवरण मात्र भर्नुपर्ने व्यवस्था गरिएको छ’ उनले भने, ‘यसमा बानी पर्दै गएपछि आवश्यक अनुसार विवरण माग्न सजिलो हुन्छ ।’
यसअघि नै विभागले कोपोमिसमा समष्टिगत विवरण बुझाएका सहकारीहरुलाई मात्र करचुक्ता प्रमाणपत्र दिन आन्तरिक राजश्व विभागलाई अनुरोध गरिसकेको छ । राजश्व विभागले पनि यसलाई कार्यान्वयन गर्नका लागि मातहतका कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।
अब सहकारी संघसंस्थाहरुले कोपोमिसमा समष्टिगत विवरण बुझाएपछि प्राप्त हुने समिसन नम्बर पेश गरेपछि मात्र कर कार्यालयबाट करचुक्ता प्रमाणपत्र पाउनेछन् ।
कोपोमिस सहकारीको सूचना व्यवस्थित गर्न सरकारले बनाएको अनलाईनमा आधारित सिस्टम बनाएको हो । सहकारी संस्थाहरुले नियामक निकायबाट कोपोमिसका लागि युजर आइडी र पासवर्ड लिन सक्ने व्यवस्था छ ।
विभागले जेठमै समष्टिगत विवरण बुझाउन निर्देशन जारी गरेको थियो । हालसम्म ११ हजार ४१३ सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरेपनि हालसम्म ७ हजार सहकारीले मात्र लगइन छन् भने ५ हजार सहकारीले मात्र समष्टिगत विवरण बुझाएका छन् ।

Leave a comment