एमाले छोडेर स्वतन्त्र भएको घोषणा गरेका तामाङ फेरी सहकारी विभागको सदस्य

एमाले छोडेर स्वतन्त्र भएको घोषणा गरेका तामाङ फेरी सहकारी विभागको सदस्य :: Sahakari Akhabar

काठमाडौं । राजनीति छोडेर व्यवसायिक र सामाजिक जीवन बिताउने घोषणा गरेका ज्ञानबहादुर तामाङ फेरी नेकपा एमाले सहकारी विभागको सदस्य बनेका छन् । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक रहेका तामाङ पार्टी राजनीति छोडेर स्वतन्त्र भएको घोषणा गरेको डेढ महिनामै पुनः पुरानै पार्टीमा जोडिएका हुन् ।

एमालेले सहकारी विभाग गठन गर्दा तामाङलाई समावेश नगरेपछि असन्तुष्टि जनाउदै उनले पार्टीको जिम्मेवारीबाट अलग भएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । तर, अहिले उक्त कमिटीमा सदस्यका रुपमा भित्रिएका छन् ।

‘आजदेखि म नेकपा एमालेको कुनै पनि तह र तप्कामा नरहेको जानकारी गराउँछु, आगामी दिनमा सर्वसाधारणको भूमिकामा बाँकी जीवन व्यतित गर्नेछु । निरन्तर समाजको लागि स्वतन्तत्र रहीरहने छु’ तामाङले जुन १ तारिखमा फेसबुकमा लेखेका थिए।

त्यस्तै तामाङले जुन २ तारिखमा अर्को स्ट्याटस लेख्दै पार्टीबाट अलग भएर व्यवसायिक र सामाजिक जीवन बिताउने घोषणा गरे । ‘जिम्मेवारी कम गरेर जीवन जिउन कोसिस हो मेरो । हिजो भूमिगत बेला माक्सवादी दर्शन बच्चादेखि सिक्ने पार्टीले अवसर दियो, धेरै शिक्षा सिकियो पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सके÷सकेन त्यो पार्टीले मुल्यांकन गर्छन् । मेरो कुनै पार्टीमा प्रबेश गर्ने सोच छैन ।’

स्रोतका अनुसार सहकारी क्षेत्रमा आफु भन्दा कम योगदान भएका व्यक्तिलाई सदस्य बनाएर आफुलाई वाइपास गरेको भन्दै तामाङ असन्तुष्ट बनेका थिए । त्यसपछि तामाङलाई विभागमा पुन राखिएको हो । कमल चौलागाईं प्रमुख तथा अमृता सुब्बा र निर्मल कुमार भट्टराई उपप्रमुख रहेको विभागको सदस्यहरुमा रमेश पोखरेल, केबी उप्रेती, डीबी बस्नेत, परितोष पौडेल, खेमबहादुर पाठक, टेकप्रसाद चौलागाईं सदस्य छन् ।

त्यस्तै भीम तुलाचन, भुवन बिक्रम घिमिरे, रामचन्द्र उप्रेती, महेन्द्र गिरी, मिना ढकाल, शान्ती अधिकारी, देवराज पराजुली, सरिता भट्टराई तिमिल्सिना, विश्वनाथ मण्डल शम्भु गुप्ता, केशव पोखरेल, डा. खगराज शर्मा, हरिहरनाथ योगी, रामबहादुर जिसी, खेमराज सुवेदी रामशरण शर्मा घिमिरे, जिवसराज खड्का र ज्ञान बहादुर तामाङ सदस्य रहेका छन् ।



Leave a comment