हाइलाइट

सहकारी ऐन पालनामा महासंघकै संचालकको अटेरी : कानुन मिचेर उपभोक्ता संघमा अध्यक्ष

सहकारी ऐन पालनामा महासंघकै संचालकको अटेरी : कानुन मिचेर उपभोक्ता संघमा अध्यक्ष :: Sahakari Akhabar

उनी जिल्ला उपभोक्ता सहकारी संघ काठमाडौंको प्रतिनिधि बनेर उपभोक्ता केन्द्रीय संघमा अध्यक्ष बनेपनि उनको प्रारम्भिक संस्था कुन हो, भन्ने विषयमा सहकारीकर्मीहरुलाई समेत जानकारी छैन । उक्त जिल्ला संघ समेत लामो समयदेखि निश्क्रिय अवस्थामा छ भने साधारणसभा समेत नगरेको स्रोतले जानकारी दियो ।

काठमाडौं । सहकारी सिद्धान्त तथा ऐन–नियम अनुसार सहकारी अभियानलाई नेतृत्व गर्ने जिम्मेवारी बोकेको राष्ट्रिय सहकारी महासंघका संचालकहरुले नै सहकारी ऐन कार्यान्वयनमा अटेरी गरेका छन् । सहकारी ऐन-२०७४ ले एउटै व्यक्ति एकै पटक दुई वटा संघ संस्थामा सञ्चालक बस्न नपाउने व्यवस्था गरिएको भएपनि महासंघकै संचालकहरुले दोहोरो / तेहेरो पद ओगट्ने गरेका छन् ।

पछिल्लो पटक महासंघका संचालक टेक प्रसाद चौलागाईं कानुन विपरित हुने गरी उपभोक्ता केन्द्रीय सहकारी संघको अध्यक्षमा चुनिएका छन् । यसअघि चौलागाई संघको कोषाध्यक्ष थिए । ९ वर्षसम्म संघले साधारणसभा समेत गर्न नसकी निश्कृय हुँदापनि चौलागाईले कुनै भूमिका खेलेनन् ।

पछिल्लो समय सहकारी विभागले संघलाई साधारणभा गर्न निर्देशन दिएपछि चौलागाईले नेतृत्व लिएका हुन् । महासंघको संचालक भइसकेका उनी नैतिक रुपमा समेत नमिल्ने गरी तल्लो तहको संघमा ओर्लिएका हुन्। उपभोक्ता सहकारी संस्थामा क्रियाशिल नभएका चौलागाईं सहकारीको राजनीतिका लागि उपभोक्ता केन्द्रीय संघमा संक्रिय देखिने गरेका छन् ।

उनी जिल्ला सहकारी संघ काठमाडौंको प्रतिनिधि बनेर उपभोक्ता केन्द्रीय संघमा अध्यक्ष बनेपनि उनको प्रारम्भिक संस्था कुन हो, भन्ने विषयमा सहकारीकर्मीहरुलाई समेत जानकारी छैन । उक्त जिल्ला संघ समेत लामो समयदेखि निश्क्रिय अवस्थामा छ भने साधारणसभा समेत नगरेको स्रोतले जानकारी दियो ।

राजनीतिक भागबन्डा गरी चौलागाई अध्यक्ष चुनिएका हुन् । उनी सहित एमालेले कोषाध्यक्ष पाएको छ । कांग्रेसले उपाध्यक्ष र महासचिव पाएको छ भने नेकपा माओवादी केन्द्रले लेखा समिति संयोजक पाएको छ । चन्द्र ठकुरी भने स्वतन्त्रको रुपमा उपभोक्ता संघमा भित्रिएका हुन् ।

९ वर्षसम्म निश्क्रिय रहेको संघमा भद्रगोल छ । कुन सदस्यको कति सेयर पुँजी छ भन्ने विषय नै अन्योलमा छ । यसअघि संघ व्यवस्थित हुन नसक्दा अस्तित्व नै धरापमा परेको थियो । संघमा उपभोक्ता सहकारी संस्था भन्दा अरु विषयका सहकारीको हालिमुहाली छ । अधिकांश बहुउद्देश्यीय सहकारीहरु उपभोक्ता केन्द्रीय संघको सदस्य छन् । ती संस्था यता बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा पनि आबद्ध छन् ।

असार २० गते संघको साधारणसभा सम्पन्न भएको थियो । संघको अध्यक्ष बन्न चौलागाईसहित दिपकप्रसाद पौडेल, माधव दुलाल र रामशरण घिमिरेले दावी गरेका थिए । दुलाल जिल्ला सहकारी संघ ललितपुर र घिमिरे जिल्ला बचत संघ ललितपुरका पूर्व अध्यक्ष हुन् । संघको नयाँ नेतृत्व चयन गर्न केबी उप्रेतीको संयोजकत्वमा एक समिति गठन भएको थियो । त्यसमा गोविन्द शर्मा, सीताराम काफ्ले, राम आचार्य र नवराज अर्याल सदस्य थिए ।

यस्तो छ कानुनी व्यवस्था

सहकारी ऐन–२०७४ को दफा ४१ को उफदफा ४ मा ‘कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्था बाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था छ । दफा ४१ को उपदफा ५ मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने उल्लेख छ ।

यसैगरी ऐनको परिभाषा सम्बन्धी दफा २ (फ) मा ‘सहकारी संस्था’ भन्नाले संस्था वा संघ सम्झनु पर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ भन्ने व्याख्या गरिएको छ । ऐनका यी व्यवस्थाले एकै व्यक्ति एक भन्दा बढी प्रारम्भिक संस्था या संघमा सञ्चालक बन्न बन्देज लगाएपनि नियामकको वेवास्ताका कारण सहकारी संघसंस्थामा धमाधम ऐन विपरित हुनेगरी सञ्चालक समितिको चयन भइरहेको छ ।

वाग्मती प्रदेश सरकारको सहकारी ऐनमा पनि माथिल्लो संघमा निर्वाचित भएपछि तल्लो तहको संघमा राजिनामा दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था खारेजीको माग गर्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अझै विचाराधिन छ । संघका अध्यक्ष दिपक पनेरु स्वयंम नेफ्सकूनको कोषाध्यक्ष समेत हुन् ।

सहकारी नेताहरू भने माथिल्लो संघमा आउन तल्लो तहबाट प्रतिनिधित्व गर्दै आउनुपर्ने भएकाले दुई तहको जिम्मेवारीलाई दोहोरो पदका रूपमा व्याख्या गर्न नहुने दावी गर्दै आएका छन् । सहकारी नेताहरुको दोहोरो पदको बारेमा भने ऐन कार्यान्वयन गर्ने सहकारी विभाग भने मौन देखिएको छ ।

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यय यसबारेमा अहिलेसम्म कुनै उजुरी नआएको बताउछन् । ‘कानुन विपरित संचालक समिति चयन भएको विषयमा कुनै उजुरी आएको छैन’ उनले भने, ‘उजुरी आएपछि गैरकानुनी पद खारेजी हुन्छ ।’



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000