'उत्पादनमा आत्मनिर्भर बन्न सहकारी माेडल उपयुक्त'

'उत्पादनमा आत्मनिर्भर बन्न सहकारी माेडल उपयुक्त' :: Sahakari Akhabar

काठमाडौं । कृषिलगागतका आन्तरिक उत्पादनमा आत्मनिर्भर हुनका लागि सहकारी प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । कृषिमा आधारीत सुधारका लागि साना किसानलाई स्वाबलम्बन बनाउनुपर्ने र यसका लागि सहकारीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ । 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याए । किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजान सक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाई थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्रनिर्माणमा सहयोग पुग्ने बताए ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सानाकिसानलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याए । लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानमै रहेको बताए।

सचिव पोखरेलले उत्पादित कच्चापदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए । सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर काम गर्दै आएको बताए ।

ग्रामीण क्षेत्रमा सानाकिसानले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था सानाकिसानविकास लघुवित्त वित्तीय संस्था भएको दावी गरे । उनले पूर्वमेची देखि पश्चिम महाकालीसम्मका सानाकिसानलाई गोलवद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए ।

पूँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मूलधारमा ल्याउन सफल भएको दावी गरे । 

पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकास लगायतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए।
लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिवी निवारणमा सानाकिसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

अरु बैंक तथा वित्तीय संस्था गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टकृत विशेषता सहित किसानलाई लक्षित गरि स्थापना भएको तत्कालिन साना किसान विकास बैंक र हालको सानाकिसान विकास लघुवित्त वित्तीय संस्थालाई अब उत्पादनसँग जोड्दै जानुपर्ने आवश्यकता बताए । 

सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले नेपालको गरिवी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

नेपालका ५ सय ४० वटा स्थानीय तहमा पहुँच विस्तार गरेको यस लघुवित्तमा ७९ प्रतिशत महिला छन् । प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए।



Leave a comment