कस्तो आउला सहकारीको १० वर्षे भिजन पेपर ?

कस्तो आउला सहकारीको १० वर्षे भिजन पेपर ? :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले १० वर्षे भिजन पेपर ल्याउने भएको छ । भिजन पेपरको मस्यौदा तयार भइसकेकोे विभागले जनाएको छ । 

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सरोकारवाला निकायसँग छलफल गरी भिजन पेपरलाई अन्तिम रुप दिने बताए । विभागले भिजन पेपरको छलफलका लागि बुधबार सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ । 

‘हामीले आन्तरिक रुपमा छलफल गरी भिजन पेपरको मस्यौदा तयार गरेका छौं’ उपाध्यायले भने, ‘सरोकारवाला निकायसँग छलफल गरी छिट्टै अन्तिम रुप दिने छौं ।’ 

सहकारी क्षेत्रको आगामी १० वर्षमा कस्तो बन्ने भन्ने विषय भिजन पेपरले समेट्ने छ । दिगो विकास लक्ष्य प्राप्ती, रोजगारी सिर्जना, गरिबी निवारण लगायतका क्षेत्रमा सहकारीमार्फत कसरी योगदान गर्न सकिन्छ भन्ने विषय पनि भिजन पेपरमा समेटिने छ । 

‘कुन कुन पाटोबाट फोकस हुँदा लक्ष्य पूरा गर्न सकिन्छ’, उपाध्याय भन्छन्, ‘यो रणनीतिक योजना हो । त्यसलाई कार्ययोजनामा ढाल्छौं ।’

भिजन पेपरले १० वर्षमा सहकारीलाई कहाँ पु¥याउने, सहकारीमार्फत के गर्ने, सहकारीका विकृति कसरी अन्त्य गर्ने, सहकारी मार्फत आर्थिक संमृद्धि कसरी हासिल गर्ने भन्ने समेटिने छ । ‘भिजन पेपरले सहकारीलाई एउटा गतिमा हिँडाउन मार्गदर्शन हुनेछ’, उनले भने ।  

विभागका उपरजिष्ट्रार खिमानन्द आचार्यले सहकारीको कानुन बनाउन भिजन पेपरले सघाउने बताए । ‘योजना समेटेर भिजन पेपर तयार गर्ने छौं’,आचार्य भन्छन्, भिजन पेपरले सहकारीसम्बन्धी दृष्टिकोण के राख्ने भन्ने थाहा प्रष्ट हुन्छ ।’

 



Leave a comment