विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकमा सञ्चालित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने कर्मचारी पक्राउ परेका छन् । सहकारीमा हस्ताक्षर किर्ते गरी ४६ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा उनलाई प्रक्राउ गरिएको हो ।
सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ रकम हिनामिना गरेको आरोपमा स्थानीय २४ वर्षीय दिलीप खवास पक्राउ परेका हुन् ।
आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले सहकारीको सेवा केन्द्रमा कार्यरत कर्मचारी खवासलाई शनिबार नियन्त्रणमा लिएको सुन्दरहरैँचा–७ का वडाध्यक्ष भुवनसिंह मगरले जानकारी दिए ।
खवासले रकम हिनामिना गरेको आन्तरिक छानबिनबाट खुलेपछि सञ्चालक समितिकै उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मगरले बताए ।
रकम हिनामिना गरेको छानबिनका लागि सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल सम्मिलित छानबिन समिति गठन गरिएको थियो ।
‘शनिबारसम्ममा छानबिन गर्दा खवासले ३० लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरेका थिए,’ उनले भने, ‘दुई महिनाभित्र तिर्नेगरी मिलापत्र भएको थियो । तर सहकारीको ४६ लाखभन्दा बढी रकम अपचलन भएको पाइएपछि पक्राउ गरिएको बुझिएको छ ।’
पोख्रेलका अनुसार अपचलन गरेकोमध्ये करिब १० लाख रुपैयाँ सहकारीलाई फिर्ता गरिसकेका छन् । अहिले इलाका प्रहरी कार्यालय बेलबारीले सहकारी घोटाला प्रकरण हेरिरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खवासले बचतकर्ताको हस्ताक्षर आफैँ किर्ते गरी रकम झिक्ने गरेको खुलेको छ । नक्कली कागजात खडा गरेर कम्प्युटर सफ्टवेयरमा इन्ट्री नगरी रकम झिकेर हिनामिना गर्दै आएको खुलेको हो । उनी २०७७ सालदेखि सो सहकारीमा कार्यरत रहेका थिए ।
कनकलक्ष्मी सहकारी नौवटा सहकारी एकीकरण भएर बनेको सहकारी हो । बलिया, विराटचोक, दुलारी गरी यो सहकारीको ६ वटा सेवा केन्द्र छन् । सहकारीका ८ हजार सदस्य छन् ।
Leave a comment