काठमाडौं । व्यवस्थित आवास विकासको उद्देश्यसहित स्थापना भएको राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ बैंकमा निक्षेप राखेर ब्याज आम्दानीमा मात्र सिमित भएको छ । संघ गठन भएको एक वर्ष भन्दा बढि समय भइसक्दा पनि उद्देश्य अनुसारको काम अघि बढाउन सकेको छैन ।
२०७७ पुसमा प्रारम्भिक भेला गरी फागुनमा संघिय सहकारी विभागमा दर्ता भएको संघमा हालसम्म ३० वटा संस्थाहरुले ११ करोड रुपैयाँ भन्दा बढि पुँजी लगानी गरिसकेका छन् । तर, हालसम्म संघ उक्त रकम बैंक तथा सहकारीमा निक्षेपको रुपमा मात्र लगानी गर्नमा सिमित भएको छ ।
बैंकको ब्याजबाटै संघले गत आर्थिक वर्षमा २२ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा ब्याजदर वृद्धि भएकाले संघको आम्दानी बढ्ने देखिन्छ । संघका महासचिव विकल्प पाठक कोरोना महामारी र तरलता अभावका कारण संघले योजना अनुसार काम गर्न नसकेको बताउछन् । ‘पुँजी निर्माण नगरी केही गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित ग¥यौं’ उनले भने, ‘अहिले पैसा लगानी गर्न पनि गाह्रो छ ।’
संघले परिस्थिति सहज हुनासाथ घडेरी खरिद गर्ने र घर निर्माण गर्ने जनाएको छ । ‘उपयुक्त ठाउँमा ५० रोपनी जग्गा लिएर व्यवस्थित घडेरी बनाइ घर निर्माण गर्ने योजना छ’ पाठकले भने, ‘जग्गा खोजी कार्य जारी छ ।’
संघले थापागाउँमा कार्यालय सञ्चालन गर्नुका साथै २ जना कर्मचारी समेत व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण जग्गा जमिन खरिद गरी परियोजना सञ्चालन गर्न कठिन देखिएको उनले बताए । ‘परिस्थिति जटिल बनेकाले लगानी नगरेका हौं’, पाठक भन्छन्, ‘लगानी गर्ने र फस्ने नहोस् भन्नेमा हामी सजक छौं ।’
संघको २०७७ चैत्र २८ गते सम्पन्न भएको साधारणसभाले कर्मचारी प्रशासन नीति, आर्थिक प्रशासन नियमावली, सेयर तथा सदस्यता नीति, परियोजना सञ्चालन कार्यविधि, कार्यालय सञ्चालन कार्यविधि, बाह्य ऋण नीति, निर्वाचन नीति, उपसमिति सञ्चालन कार्यविधि पारित गरेको थियो ।
Leave a comment