सहकारी प्रशिक्षण केन्द्रबाट साढे ७ सयलाई तालिम

सहकारी प्रशिक्षण केन्द्रबाट साढे ७ सयलाई तालिम :: Sahakari Akhabar

काठमाडौं । संघिय सरकारको मातहत रहेको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले दिने सहकारीका विभिन्न शीषर्कमा तालिम लिन सहकारीकर्मीमा आकर्षण बढ्दै गएको छ । केन्द्रले संचालन गर्ने तालिममा लक्ष्य भन्दा बढी नै सहकारीकर्मी उपस्थिति हुन थालेपनि कोटा भने वृद्धि हुन सकेको छैन । 

केन्द्रका सूचना अधिकारी देवराज लुइटेलले यस वर्ष ७ सय ५० जनालाई तालिम दिइएको बताए । सहकारीका विभिन्न शीर्षकमा केन्द्रले देशभरका सहकारीकर्मीलाई तालिम प्रदान गर्दै आएको छ । ‘हामीले लक्ष्य गरेका भन्दा कम्तीमा ५ जना बढीलाई मात्रै तालिम दिन सकेका छौं’ उनले भने, ‘सहकारीका विभिन्न शीषर्कमा तालिम लिन चाहने सहकारीकर्मी बढेका छन् ।’

केन्द्रले देशभरका सहकारीकर्मी छनोट गरेर प्रशिक्षण दिने गरेको छ । केन्द्रमा ५ जना प्रशिक्षक छन् । यसबाहेक अन्य विज्ञहरुलाई बोलाएर पनि तालिम संचालन गर्ने गरेको छ । 

केन्द्रले चार दिने आवासीय आधारभुत सहकारी तालिम २ वटा सञ्चालन गरेको छ । नेतृत्व तथा संस्थागत विकास तालिम र प्रशिक्षक प्रशिक्षण तालिम ५ वटा सञ्चालन गरेको छ । त्यस्तै सहकारी व्यवसाय प्रवद्र्धन तालिम (७ दिने) २ वटा, सहकारी लेखा, वित्तिय व्यवस्थापन तथा कोपोमिस तालिम (१० दिने) २ वटा सञ्चालन गरेको छ । 

स्थानिय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक अन्तरक्रिया गोष्ठी एक, सहकारी संघ तथा प्रारम्भिक संस्था समेतको सहकार्य सम्पत्ति शुद्दिकरण सम्बन्धी एक कार्यदिने अभिमुखीकरण तालिम एक र सहकारी नियामक जनशक्तिको लागि (कर्मचारी तालिम) प्रशिक्षक तथा कर्मचारीहरुलाई कोपोमिस सम्बन्धी  टिओटी तालिम २ वटा सञ्चालन गरेको छ । कोपोमिस सम्बन्धी कर्मचारीलाई अनुशिक्षण २, सहकारी प्रशिक्षक प्रशिक्षण तथा पुनर्ताजगी तालिम (७ दिने) संघ/प्रदेश/स्थानिय स्तरका सहकारीकर्मीलाई १० वटा सञ्चालन गरेको छ । यस वर्षको अन्तिम तालिम सोमबारदेखि प्रशिक्षण केन्द्रमा सञ्चाललन भइरहेको छ । 

सहकारीका सञ्चालक, व्यवस्थापकलाई नेतृत्व तथा संस्थागत विकासको १५ दिने तालिम तीन वटा सञ्चालन गरेकोमा ७५ जना लक्ष्य गरिएकोमा ८० जना सहभागी भए । त्यस्तै प्रशिक्षक प्रशिक्षण तालिम ५ वटा सञ्चालन गर्दा १ सय ४० जना सहभागी थिए । 

सूचना अधिकारी लुइटेलका अनुसार प्रशिक्षण केन्द्रबाट तालिम लिएका धेरै सहकारीकर्मीले अरुलाई पनि सिकाउन थालेका छन् । ‘यहाँ सिकेको सिप आफ्नो जिल्लातिर उपयोग गरिरहुनुभएको छ’ उनले भने, ‘केही व्यवसायिक प्रशिक्षक भएर सहकारीकर्मीलाई शिक्षा दिइरहनुभएको छ ।’ 
 



Leave a comment