सहकारी खरिद बिक्रीमा नयाँ स्टाइल : सामाजिक संजालबाट बार्गेनिङ

सहकारी खरिद बिक्रीमा नयाँ स्टाइल : सामाजिक संजालबाट बार्गेनिङ :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था दर्तामा कडाइ भएसँगै पुराना सहकारीहरुको खुलेआम किनबेच हुन थालेको छ । विगतमा पत्रिकालगायतका आमसंचार माध्यममा विज्ञापन प्रकाशित गरी किनबेच हुने गरेपनि सहकारी विभागलगायत नियामकले हस्तक्षेप गर्न थालेपछि ब्रोकरहरुले यसलाई परिवर्तन गरेका छन् ।

सहकारीको किनबेचमा सक्रिय ब्रोकरहरुले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् । फेसबुकलगायत सामाजिक सञ्जालमा सहकारी किनबेचका सूचना राख्दै खुलेआम बार्गेनिङ भएपनि नियामकले यसलाई रोक्न र कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

असार ५ गते आईतबार फेसबुकमा ‘कृषि फार्म दर्ता’ प्रयोगकर्ताको नाममा ‘सहकारी संस्था चाहियो, थप जानकारीका लागि तल कमेन्ट गर्नुहोला’ सूचना राखिएको छ । उक्त सूचनामा देशको जुनसुकै जिल्लामा २ देखि ५ बर्ष अघि विधिवत दर्ता भएका (तर सञ्चालन हुन नसकेका वा सञ्चालनमा नरहेका ) सहकारी संस्था रहेमा योग्य ब्यबस्थापन सहित फेरि सञ्चालन गर्न चाहनेले सम्पर्क गर्न भनिएको छ ।

यसैगरी सहकारी संस्था पूर्णरुपमा राज्य तथा बचतकर्ता प्रति आर्थिक दायित्व नरहेको हुनुपर्ने, नवीकरण नगरिएको सहकारी संस्था भए नवीकरण गर्न मिल्ने हुनुपर्ने, सहकारी संस्थामा जहाँसुकै ठेगाना भएको नेपाली नागरिक सदस्य बन्न सक्ने प्राबधान रहेको हुनुपर्ने उल्ल्ेख गरिएको छ ।

उक्त स्ट्याटसमा धेरैले कमेन्ट गर्दै सहकारी चाहिएको र कतिले बिक्रीका लागि सहकारी आफूसँग रहेको प्रतिक्रिया समेत दिएका छन् । सूचनाका आधारमा विश्लेषण गर्दा देशभरका सहकारी किनबेचका लागि ठूलै समूह सक्रिय रहेको सहजै अनुमान गर्न सकिन्छ ।

यसअघि २०७८ कार्तिकमा दिपकमान श्रेष्ठले चलिरहेको प्रतिष्ठित सहकारी संस्था बिक्रीमा रहेको सूचना प्रकाशित गरेका थिए । पाटर्रनसिपमा सहकार्य गरी जानपनि सकिने सूचना तीन पटकसम्म प्रकाशित गरेका थिए। त्यतिबेला पनि कुमार सिंग्देलका नामबाट काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्ला कार्यक्षेत्र भएको बहुउद्देश्यीय सहकारी बिक्रीमा भएको सूचना सामाजिक सञ्जालमै आएको थियो ।

विगत ४ / ५ वर्षदेखि सहकारी संस्था दर्तामा सरकारले कडाइ गरेपछि सहकारी किनबेचमा गिरोह खुलेर नै लागेका छन् । कानुन अनुसार सहकारीको किनबेच गर्न नमिल्ने भएकाले सहकारी अभियान्ता र कर्मचारीहरुले भित्रभित्रै सेटिङ मिलाएर संचालक समिति परिवर्तन भएको देखाउदै संस्था बिक्री गर्न गिरोह सक्रिय रहेको देखिएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष  रमेश पोखरेलले सहकारी संघसंस्था किनबेच नमिल्ने भएपनि रोक्न नसकिएको बताउछन् । ‘जसले गरेको छ, त्यो गैरकानुनी काम हो’ उनले भने, ‘किनबेच कुनै पनि तरिकाले मिल्दैन, निरुत्साहित गर्नतर्फ लाग्नुपर्छ ।’

सहकारीमा नेतृत्व परिवर्तन हुन्छ । तर, सहकारीका पूराना सञ्चालकले अरुलाई नै बिक्री गर्ने गरेको पाइएको छ । गैरकानुनी सूचना आएको थाहा पाए पछि सम्बन्धी जिल्लाको नेतृत्वमार्फत ध्यानाकर्षण गराउने गरेको उनले बताए । ‘किनबेच रोक्न नियमन निकायले अनुगमन र नियमन गर्नुपर्छ’ उनले भने ।



Leave a comment