काठमाडौं । बैंकको भन्दा बचतमा बढि ब्याज र कर्जाको प्रक्रिया सजिलो हुँदा सहकारी संस्थाहरु कारोबार गर्न सर्वसाधारणको आकर्षण बढेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको प्रदेश नं १ को ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन’ मा सहकारीमा कारोबार समेत बढ्दै गएको पाइएको छ।
‘बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी व्याज पाइने, कर्जा लिने प्रक्रिया छोटो तथा कम झन्झटिलो हुने भएकाले बचत गर्न तथा ऋण लिन सहकारीमा सर्वसाधारणको आकर्षण बढेको छ’ राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
राष्ट्र बैंकले प्रदेशका १० वटा ठूला सहकारीहरु छनोट गरी अध्ययन गरेको थियो अध्ययनमा सहकारी संस्थाहरुको कुल पुँजी २३ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आवको ६ महिनामा सहकारीको पुँजी १४.३ प्रतिशतले वृद्धि भएको थियो ।
पुँजीसँगै सहकारीमा बचत तथा ऋणको कारोबार पनि बृद्धि भएको छ । २०७८ पुस मसान्तमा सहकारीको कुल बचत २४.९ प्रतिशत र कुल कर्जा ४९.५ प्रतिशतले बढेको छ ।

२०७७ पुस मसान्तमा सहकारीको बचत ३२.० प्रतिशत र कर्जा २१.२ प्रतिशतले बढेको थियो । त्यसैगरी सहकारी संस्थाको सदस्यको संख्या १६.७ प्रतिशत र कर्मचारीे संख्या २३.१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि राष्ट्र बैंकले गरेको बागमती प्रदेशको अध्ययनमा सहकारीको बचत संकलन २.३ प्रतिशतले वृद्धि हुदा कर्जा प्रवाह भने १७.२ प्रतिशतले वृद्धि भएको सार्वजनिक भएको थियो ।
यसैगरी गण्डकी प्रदेशको आर्थिक गतिविधिबारेको अध्ययनमा पनि सहकारीको कर्जा ६.२ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह २६.८ प्रतिशतले वृद्धि भएको पाईएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च गर्दा बैंकमा पनि कर्जा अभाव भइरहेको छ ।
Leave a comment