जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न र त्यसका लागि २ करोड दिने उल्लेख गरेको छ ।
काठमाडौं । सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार इच्छाराज तामाङले हिरासतबाट छुट्न चलखेल गरेको पाइएको छ । ठगी आरोपमा पक्राउ परेका तामाङलाई छुटाउन न्यायधीशलाई २ करोड घुस दिन लागिएको अडियो सार्वजनिक भएसँगै तामाङले प्रहरी हिरासतबाटै चलखेल गरेको तथ्य सार्वजनिक भएको हो ।
न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको अडियोमा अधिवक्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न र त्यसका लागि २ करोड दिने उल्लेख गरेको छ । पोखरेल तामाङको पक्षमा वकालत गर्दै आएका छन् ।
ठगीको आरोपमा असोज १८ गते तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको थियो । अहिले उनी प्रहरीको हिरासतमा छन् । तामाङका विभिन्न कम्पनीमार्फत ८ अर्ब ५७ करोड ऋण लगेका छन् । उक्त ऋणको सावा, ब्याज नबुझाउँदा सहकारीका झण्डै २ हजार सदस्यले निक्षेप पाएका छैनन् । तर, १ हजार ५ सयले ठगिएको उजुरी सिआइबीमा दिएका थिए ।
न्यायधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अडियोमा न्यायधीश कोइरालाले घुस लिन डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भनेको सुनिन्छ ।
तर अधिवक्ता पोखरेलले भने ‘त्यसमा कुनै समस्या नहुने, प्रधानन्यायधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने’ भनेका छन् । अधिवक्ता पोखरेलले सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायधीश कोइरालालाई आश्वस्त पार्न खोजेको सुनिन्छ ।
Leave a comment