श्रम सहकारीले मिनी ठेकेदार जन्माउछ : डा. युवराज खतिवडा

श्रम सहकारीले मिनी ठेकेदार जन्माउछ : डा. युवराज खतिवडा :: Sahakari Akhabar

काभ्रे । सरकारले आगामी आगामी आर्थिक वर्षको बजेटमा श्रम सहकारीमार्फत १० करोडसम्मको विकास निर्माणको काम गर्ने योजना अघि सारेका बेला पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भने यो प्रावधानका कारण ‘मिनी ठेकेदार’ जन्माउने बताएका छन् । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजनामा आईतबारबार सुरु भएको व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै खतिवडाले श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने बताए ।

बजेटले श्रम सहकारीमार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत उनले गरे । सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने, ‘सदस्यले ज्यालामा काम गर्दैनन्, श्रमको माध्यमबाट आर्थिकस्तर माथि उकास्छन् । तर श्रम, ज्याला र ठेक्कामा काम गर्ने सहकारी कस्तो हुन्छन् ? त्यस्ता संस्था मिनी ठेकेदार मात्रै हुन् ।’

खतिवडाले श्रमिक वर्ग एकआपसमा मिलेर पूँजी निर्माण गरी आयआर्जनको काम गरे मात्र त्यो श्रम सहकारी हुने बताए । यसका लागि अरु कुनै नाम दिइराख्न नपर्ने उनले जनाए । सहकारीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य सहकारीले समुदायसँग सहकार्य गरेर आधारभुत स्वास्थ्य सेवा र शिक्षा सहकारीले शिक्षाको व्यापारिकरणलाई न्युनिकरण गर्न कम मुनाफामा काम गर्न सके त्योभन्दा उत्तम केही नहुने उनले बताए । 

वर्तमान तरलता संकटको समस्या तत्काल समाधान नहुने उनले उल्लेख गर्दै उनले अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको भन्दै बताए । उनले पुँजी पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने जनाए । अहिले प्रणालीमा नै समस्या रहेकाले बैंक, वित्त र सहकारी संस्थामा एउटै समस्या आएको छ ।‘कोरोनालाई मात्र जोडेर तरलता समस्याको विश्लेषण गर्न नमिल्ने भन्दै विवेकपूर्ण तरिकाले लगानी नगर्दा समस्या आएको हो’ उनले भने । 


‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नारासहित सुरु भएको गोष्ठीमा जिल्लाका १२९ जना व्यवस्थापन प्रमुख तथा अधिकृतको उपस्थिति छ । संघका सिइओ ज्ञानेन्द्र दाहालले काभ्रेको सहकारी अभियान र थिमका बारेमा प्रस्तुतिकरण दिए । 

दुई दिने गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुतिकरण गर्ने, राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठको प्रस्तुति रहेको छ ।
 



Leave a comment