काठमाडौं । सहकारी ब्याजदरलाई स्वचालित बनाउने योजना अलपत्र परेको छ । सन्दर्भ व्याजदरको विषयमा सहकारी क्षेत्रमा चर्को विरोध हुन थालेपनि यसलाई बजारको आधारमा स्वचालित बनाउन सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा समिति नै बनाइएको थियो । तर, समिति गठन भएको चार महिना वित्नलाग्दा समेत यस विषयमा कुनै काम हुन सकेको छैन ।
ब्याजदर पुनरावलोकन गर्न गठन भएको प्राविधिक समितिले स्वचालित बनाउन सुझाव दिए पनि तत्काल कार्यान्वयन गर्न कठिन रहेको उपरजिष्ट्रार टोलराज उपाध्याय बताउछन् । ‘स्वचालित ब्याजदर तुरुन्त लागू गर्न सकिदैँन’, उनले भने, ‘यसका लागि थप अध्ययन आवश्यक छ ।’ सन्दर्भ ब्याजदर स्वचालित बनाउने विषय अध्ययनकै क्रममा रहेको उनले बताए ।
उपसमितिका सदस्य समेत रहेका राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर तोक्ने व्यवस्था गर्नुपर्ने बताए । ‘विभागले ३५ बुँदे निर्देशन जारी गर्दा बेस रेटमा प्रिमियम जोड्नुका साथै सन्दर्भ ब्याजदर पनि तोक्ने सुझाव दिएका थियौं’ उनले भने ।
सरकारी निकायका प्रतिनिधिसँग छलफल गर्दा सहकारी ऐनमै सन्दर्भ ब्याजदरको व्यवस्था भएकाले यसलाई छोडेर स्वचालित बनाउन नसकिने प्रतिक्रिया आएकाले बैंकले बेसरेटमा प्रिमियम जोड्ने सुझाव दिएको उनले बताए ।
सन्दर्भ ब्याजदर (ब्याजदरको अधिकतम सीमा र बेसरेटमा प्रिमियम जोड्न पाउने व्यवस्था सँगसँगै लगेर नयाँ मोडेलमा जान सकिने गुरागाईले बताए । यस्तो गर्दा पनि सन्दर्भ ब्याजदर भन्दा माथि बेसरेटमा प्रिमियम जोड्न नपाइने व्यवस्था हुनुपर्ने गुरागाईले बताए ।
Leave a comment