काभ्रे । विगत २८ वर्षदेखि किसानले उत्पादन गरेको दूध बजारसम्म र्पुयाउँदै आएको सहकारीले अब आफैँले गाई पाल्ने भएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाईपालन गरी किसानलाई दिने भएको हो । यसका लागि सहकारीले एनलएसआईपी समक्ष एक करोड ९३ लाख ५१ हजार ७१४ रुपैयाँ लागत प्रस्ताव पेस गरेको थियो ।
धुलिखेल नगरपालिका–२, रवीगाउँमा आधुनिक गाईगोठ फार्म निर्माण गरि नेपाल लाइभस्टक सेक्टर इनोभेसनको अनुदानमा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाईपालन गर्न लागेको हो । एनलएसआईपीबाट ९६ लाख ७५ हजार ८५७ रुपैयाँ अनुदान उपलब्ध गराउने गरी स्वीकृति प्राप्त भएको सहकारीका अध्यक्ष चतुर्भुज तिमल्सिनाले जानकारी दिए ।
कुल १०० गाई अट्ने गोठसहित अरू संरचाना बनाउनका लागि १५ रोपनी र घाँसका लागि १०० रोपनी जग्गा भाडामा लिइएको उनले बताए । उन्नत जातको बाच्छी उत्पादन गरेर किसानलाई दिइने योजना रहेको तिमल्सिनाको भनाई छ ।
गाईपालनले रोजगारी पनि सिर्जना गर्ने भएपछि किसान हर्षित भएको उनी बताउँछन् । सहकारीको उद्देश्य दूध उत्पादन नै हो, सँगसँगै उन्नत जातका गाई उत्पादन गरेर किसानलाई दिने लक्ष्य राखेका छौँ, उनले भने । सहकारीका एक हजार सदस्य भएकोले पहिलो प्राथमिकता संस्थाका सदस्य भएको उनको भनाई छ ।
Leave a comment