काठमाडौं । सहकारी क्षेत्रको डिजिटल रुपान्तरण गर्ने भन्दै एक निजी कम्पनीलाई रणनीतिक साझेदारी बनाएको राष्ट्रिय सहकारी महासंघ सोही कम्पनीको सफ्टवेयर प्रवद्र्धनमा सक्रिय भएको छ । कम्पनीको सेवा बिक्री भएबाट आउने कमिसनको लोभमा महासंघले सफ्टवेयर प्रयोग गर्न सहकारी संघसंस्थालाई सिफारिस गरेको छ ।
महासंघले गत जेठ ९ गते सफ्टवेयर सेवा प्रदायक कम्पनी इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी सम्झौता गरेको थियो । त्यसपछि जेठ २० गते महासंघले कम्पनीको ‘इन्फिनिटि कोअपरेटिभ सफ्टवेयर प्रयोग गर्न अनुरोध गरिसकेको छ । सफ्टवेयरको प्राविधिक विषय उल्लेख नगरी महासंघले हचुवाकै आधारमा सफ्टवेयर राम्रो र सुरक्षित रहेको भन्दै प्रशंसा गरेको छ ।
‘सहकारी संघसंस्थाहरुको कारोबार सुहाँउदो सरल वित्तीय अनुशासनमा आधारित आइएसओद्धारा प्रमाणीत पेशागत र ब्यवसायिक समूहद्धारा संचालित एवं महासंघसँग रणनीकि साझेदारी गरी संचालनमा ल्याएको सहकारी मैत्री इन्फिनिटि कोअपरेटिभ सफ्टवेयरको प्रयोग त्यस संघ एवंम आवद्ध संस्थाहरुमा गर्न गराउन प्रमुख भूमिका खेलिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।’ महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङले केन्द्रीय संघहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
महासंघले निजी कम्पनीको सफ्टवेयर प्रवद्र्धन गर्न थालेपछि सहकारीलाई सफ्टवेयर बिक्री गर्दै आएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) ले भने सम्झौता कार्यक्रम नै बहिष्कार गरेको थियो । नेफ्स्कूनको बैठकमा महासंघको सदस्यता फिर्ता लिनेसम्मको छलफल भइरहेको स्रोतले जानकारी दियो । ‘केही कमिसन आउने लोभमा महासंघले हचुवामै सफ्टवेयर प्रयोग गर्न सिफारीस गरेको छ’ नेफ्सकून स्रोतले भने, ‘महासंघ हामीलाई वेवास्ता गरेर अघि बढ्छ भने सदस्यता फिर्ता लिनेसम्मको बहस साथीहरुले गर्न थालेका छन् ।’
पछिल्लो समय सहकारी महासंघ आफ्नो मुख्य जिम्मेवारी भन्दा पनि नाफा हुने काममा केन्द्रीत हु्न थालेको आरोप लाग्दै आएको छ । महासंघले प्रारम्भिक संस्थाहरुबाट प्रतिनिधि बोलाएर गर्ने तालिम संचालन गर्ने, महंगो शुल्क लिने गरेको, तालिममा सहभागि हुन बाध्य बनाउने गरेकोलगायतका आलोचना हुने गरेको छ ।

Leave a comment