काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषणा गरेको दोस्रो तहको नियामक निकाय (सेकेन्ड टायर इस्टिच्युसन) गठन गर्न सरोकारवाला सहमत देखिएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले लामो समयदेखि छुट्टै नियामक गठन गर्ने विषय पटक पटक घोषणा भएपनि कार्यान्वयन नभएको बताउदै सहकारीको प्रभावकारी नियमनको लागि यो आवश्यक भएको बताए ।
‘सहकारीको छवि सुधार्नका लागि जोखिममा आधारित नियमन हुनुपर्छ’ कार्यक्रममा कार्यपत्र राख्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले भने, ‘यसका लागि छुट्टै नियामक स्थापना गर्ने गर्दा प्रभावकारी हुन्छ ।’
कार्यक्रममा बैंककै अध्यक्ष केबी उप्रेतीले पनि सेकेन्ड टायर इस्टिच्युसन सहकारी अभियानको पनि माग रहेको बताए । तर, यसमा सहकारी विभागसहित अभियानको समेत सहभागिता रहनुपर्ने उनको भनाइ थियो ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का अध्यक्ष परितोष पौड्यालले संघ–प्रदेश र स्थानिय तहको नियमनमा एकरुपता आवश्यक रहेकोमा जोड दिदै यसका लागि सेकेन्ड टायर इस्टिच्युसन आवश्यक रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलले सेकेन्ड टायर इस्टिच्युसन गठनको विषय सहकारी अभियानले ८ वर्षदेखि उठाउदै आएको बताए । यसमा अभियानको पनि समर्थन रहेको भन्दै कार्यान्वयन गर्नमा जोड दिए । ‘डा. युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उहाँकै संयोजकत्वमा बनेको कार्यदलले दोस्रो तहको नियामक गठन गर्ने विषय उठाएको हो’ उनले भने, ‘उहाँ गभर्नर, अर्थमन्त्री बनेपनि काम अघि बढ्न सकेन ।’
संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले भने विभागको पुर्नसंरचना गरेर नियमन प्रभावकारी बनाउन सकिने बताए । ‘सिनियर सहसचिवको संयोजकत्वमा उपरजिष्ट्रार दुई–तीन जना पनि सहसचिव राखेर नियमन प्रभावकारी बनाउन सकिन्छ’ उनले भने, ‘त्यसका लागि ३१ जनाको दरबन्दीलाई बढाएर ६० जनाको बनाउनुपर्छ ।’
राष्ट्र बैंकले २०७० सालमा सहकारी तथा लघुवित्त संस्थाहरुको अनुगमन गर्ने गरी सेकेन्ड टायर इन्टिच्युसन गठन प्रस्ताव गरेपनि कार्यान्वयन हुन सकेको छैन । राष्ट्र बैंकले कानुनको मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाए पनि अघि बढेको छैन । सहकारी ऐन–२०७४ मा ५० करोड भन्दा बढिको कारोबार हुने सहकारी संस्थाहरुको अनुगमन राष्ट्र बैंकले गर्ने प्रावधान राखेपनि कार्यान्वयन भएको छैन ।
Leave a comment