एक वर्षदेखि निमित्तको भरमा कास्कून, सिइओ नियुक्तीमा आलटाल

एक वर्षदेखि निमित्तको भरमा कास्कून, सिइओ नियुक्तीमा आलटाल :: Sahakari Akhabar

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई नीति, विधि र प्रविधि सिकाउने संघहरु आफै भने त्यसको कार्यान्वयन गर्दैनन् । यसकै पछिल्लो उदाहरण बनेको छ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ।  एक अर्वको हाराहारीमा वित्तीय कारोबार गर्ने संघ एक वर्षदेखि निमित्त सिइओको भरमा चलिरहेको छ ।

तत्कालिन सिइओ कृष्णप्रसाद आचार्यले राजिनामा दिएसँगै कास्कुन २०७८ असारदेखि सिइओ विहिन छ । आचार्यले एक वर्षमै राजिनामा दिएपछि संघले अरुण तिवारीलाई व्यवस्थापनको भूमिकाका सम्पूर्ण जिम्मेवारी दिएर काम चलाइरहेको छ ।

वित्तीय कारोबार गर्ने संस्थाहरु ६ महिनाभन्दा बढि सिइओ पद रिक्त हुनुलाई सुशानका दृष्टिकोणले उपयुक्त मानिदैन । संघमा सीइओ राख्नका लागि सञ्चालक समितिले निर्णय गरेको ६ महिना भइसक्दा पनि नियुक्ति प्रक्रिया सुरु भएको छैन ।

पदपूर्ती समितिले नियुक्तिमा उदासीनता देखाउँदा प्रक्रिया नै सुरु हुन सकेको छैन । पदपूर्ती समितिका संयोजक एवम सचिव शालिकराम पुडासैनीले कोभिड–१९ को महामारी र आर्थिक मन्दीका कारण प्रक्रिया अघि बढाउन नसकिएको बताए । तर, सञ्चालक समितिका अन्य पदाधिकारीले भने सञ्चालक समितिले निणर्य गरिसकेको विषय पदपूर्ती समितिले रोक्न नमिल्ने बताउँछन् ।

कास्कूनका उपाध्यक्ष नवराज अर्यालले प्रक्रिया अघि बढाउन विलम्ब गर्नु गलत भएको बताए । ‘सञ्चालक समितिले आवश्यकता बोध गरेर नै सिइओ राख्ने निर्णय गरेको हो’, उनले भने, ‘पदपूर्ती समितिले निणर्य कार्यान्वयन नगर्नुको पछाडि कारण बुझ्न सकिएको छैन।’ कास्कूनमा सचिव नै पदपूर्ती समितिको संयोजक हुने व्यवस्था छ ।

यसअघि सचिवको जिम्मेवारी निर्वाह गरिसकेका अर्यालले त्यतिबेला निणर्य भएको एक हप्ताभित्रै प्रक्रिया सुरु गरेको बताउँछन् । सचिव एवम् पदपूर्ती समितिका संयोजक पुडासैनीले निणर्य भइसकेको लामो समय भएकाले फेरि सञ्चालक समितिमा छलफल गरेर प्रक्रिया अघि बढाइने बताए । ‘पहिल्यै निणर्य भइसकेकाले अब निणर्य गर्नु नपरेपनि सूचना जारी गर्नुअघि बैठक बसेर छलफल गर्छौ ।’ 

उपाध्यक्ष अर्यालले कास्कुनमा सिइओ आवश्यकता भएर नै नियुक्ति गर्ने निर्णय गरिएको बताउँछन् । ‘समितिले नियुक्ति प्रक्रिया किन अघि नबढाएको थाहा छैन, ‘इन्टेन्सन भएर हो कि सिइओ राख्न नचाहेको, एक सञ्चालकले भने । 

कास्कूनका अर्का सञ्चालकले भने पदपुर्ती समितिले भनेको जस्तो मान्छे नभेटिएकाले प्रक्रिया अघि नबढाएको बताउँछन् । ‘अब प्रक्रिया सुरु हुन्छ होला, आवश्यकता भएरै निर्णय गरिएको हो’ ती सञ्चालकले भने ।



Leave a comment