काठमाडौं । नेकपा माओवादी केन्द निकट सहकारीकर्मीले बजेटमार्फत बढेको सहकारीको आयकर घट्ने दावी गरेका छन् ।
आयकर वृद्धिको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्मासँग भेटेका उनीहरुले सहकारी क्षेत्रमा लगाएको कर हटाउने आश्वासन पाएको जानकारी दिएका छन् । अर्थमन्त्रीका निकट मानिने सञ्चार सहकारी केन्दीय संघका अध्यक्ष विष्णुहरि ढकालले अर्थमन्त्रीले घटाउने आश्वासन दिइसकेकाले संसदबाट पास हुनुअघि नै कर घट्ने दावी गरे ।
अर्थमन्त्री शर्माले नगरपालिका क्षेत्रमा सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उपमहानगर पालिकाका सहकारीलाई १० प्रतिशत र महानगरपालिकामा सञ्चालित सहकारीलाई १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेका छन् । यसअघि नगरपालिकामा ५ प्रतिशत, उपमहानगरमा ७ प्रतिशत र महागरपालिमा १० प्रतिशत आयकर लाग्दै आएको थियो ।
अध्यक्ष ढकाल कर घटाउन अर्थमन्त्रीलाई लबिङ गर्र्नै नपर्ने बताउँछन् । ‘अर्थमन्त्रीले करेक्सन गर्ने कुरो गरिसक्नुभएको छ’ उनले भने,‘पुरानै करका दर लागू हुनेमा म विश्वस्त छु ।’
माओवादी निकट रहेका नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमल्सिना पनि सहकारीको कर बढेपछि अर्थमन्त्रीसँग भेटेर घटाउन सुझाव दिएको बताउँछन् । ‘मन्त्रीज्यू कन्भिन्स हुनुभएको छ, छिट्टै पुरानै करका दर लागू हुनेमा म विश्वस्त छु ।’
नेकपा माआवादी केन्द्रको सहकारी विभागकी सदस्य सीता ढकालले सहकारीको कर घटाउन अर्थमन्त्रीले आश्वासन दिइसकेकाले घट्नेमा ढुक्क छन् । ‘हामीले लबिङ गरिरहेका छौं, मन्त्रीले पूरानै कर व्यवस्था लागू गर्छु भन्नुभएको छ’ ढकालले भनिन् ।
आयकर वृद्धिको घोषणासँगै सहकारी क्षेत्रबाट सरकार र अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भइरहेका छ । प्रतिपक्षी दलका सांसदहरुले संसदमै यसको विरोध गरेका छन् । यसैगरी राष्ट्रिय सहकारी महासंघले विज्ञप्ती नै जारी गरेर आयकरकाे व्यवस्था फिर्ता लिन आग्रह गर्नुका साथै फिर्ता नभएमा आन्दोलनको समेत चेतावनी दिएको छ ।
Leave a comment