काठमाडौं । सरकारले साझा सहकारीबाट ऋण लिएका साना किसानको ऋण मिनाहा गरी उनीहरुको रोक्का रहेको धितो फुकुवा गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा २०४९ सालअघि साझा सहकारीबाट लिएका सम्पुर्ण किसानहरुको ऋण मिनाहा गरेर धितो जग्गा फुक्का गरिने उल्लेख गरेका छन् । तीन वर्षअघि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले नै ऋण मिनाहा गर्ने घोषणा गरेपनि त्यसबेला साझा सहकारीको नाममा रहेको कृषि विकास बैंकको ऋणमात्र चुक्ता भएकाले किसानको ऋण मिनाहा र रोक्का धितो फुकुवा गर्न बजेटमा कार्यक्रम राखिएको सहकारी रजिष्ट्रार रुद्र प्रसाद पण्डित जानकारी दिए ।
‘२०७५/०७६ को बजेटको प्रावधान अनुसार कृषि विकास बैंकमा भएको साझा सहकारीहरुको ऋण मात्र मिनाहा भयो’ उनले भने, ‘अब साझा सहकारीहरुले धितो रोक्का गरेका किसानहरुको ऋण मिनाहा गर्न र रोक्का फुकुवा गर्न फेरी कार्यक्रम राखिएको हो ।’
सहकारी ऐन २०४८ जारी हुनुअघि सरकारको मातहमा संचालमा रहेका साझा सहकारीहरुले कृषि विकास बैंकबाट थोकमा कर्जा लिएर साना किसानलाई लगानी गरेका थिए । अधिकांश साना किसानले ऋण चुक्ता गरेपनि संस्थाका सञ्चालक र व्यवस्थापक रकम अपचलन गर्दा बैंकको ऋण भने चुक्ता हुन सकेको थिएन ।
जिल्ला–जिल्लाबाट साझा संस्थाले रोक्का राखेको धितो फुकुवा नभएको गुनासो आएपनि फेरी बजेटमा कार्यक्रम राखिएको पण्डितले दावी गरे । ‘विभिन्न जिल्लाबाट धितो रोक्का फुकुवा नभएको गुनासो आएको छ’ उनले भने, ‘अब किसानको धितो फुकुवा र निश्कृय साझा सहकारीलाई सक्रिय बनाउने काम सँगसँगै अघि बढाउछौं ।’ अध्ययन समितिले असोज अन्तिमसम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेको र त्यसले साझा सहकारीमा कति किसानको धितो रोक्का छ भन्ने विवरण समेत स्पष्ट हुने उनले बताए ।
Leave a comment