सरकारको जोड उत्पादनमा, सहकारीको प्राथमिकता बचत ऋणमै 

सरकारको जोड उत्पादनमा, सहकारीको प्राथमिकता बचत ऋणमै  :: Sahakari Akhabar

काठमाडौं । सहकारीसँग रहेको पुँजीलाई उत्पादनमा परिचालन गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा सहकारीले कुल लगानीको ५० प्रतिशत उत्पादन तथा आयमूलक क्षेत्रमा गर्नुपर्ने घोषणा गरे। यसअघि नै सहकारी विभागले एकीकृत निर्देशनमार्फत ५१ प्रतिशत लगानी उत्पादन र आयमूलक क्षेत्रमा गर्न निर्देशन दिइसकेको छ ।

सरकारी नीति, कार्यक्रम र बजेटमा सहकारीमार्फत उत्पादन बढाउने विषय प्राथमिकतामा भएपनि सहकारी क्षेत्रको आकर्षण भने बचत ऋण कारोबारमै छ । कृषिसँग सम्बन्धित विभिन्न सहकारी संघसंस्था दर्ता त भएका छन् । तर, ती संस्थाहरुमध्ये अधिकांश बचत तथा ऋण कारोबारमै केन्द्रीत छन् ।

कृषिको  नाममा दर्ता भएका सहकारी पनि बचत तथा ऋणकै काम गर्छन् । केहि कृषि सहकारी सरकारी अनुदान लिन दर्ता हुन्छन् अनुदान पाएपनि विस्तारै निश्कृय बन्छन् । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल सहकारीमार्फत उत्पादन बढाउन उत्पादन क्षेत्रकै सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउछन् ।

वित्तीय र अन्य प्रकृतिका सहकारीलाई एकै डालोमा हालेर ५१ प्रतिशत लगानी उत्पादनमा गनर्नुपर्ने घोषणा अव्यवहारिक भएको उनले बताए । ‘हामी बचत तथा ऋण सहकारीहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन गर्न सक्दैनौं’, पौड्याल भने ‘वित्तीय सहकारीले अन्तर्राष्ट्रिय सिद्धान्त विपरित गैर वित्तीय क्षेत्रमा लगानी गर्न मिल्दैन ।’ 

सहकारीलाई उद्देश्य अनुसारको काममा लगाउनका लागि सहकारी ऐन २०७४ मा मुख्य कारोबारको प्रावधान राखिएको छ । यो व्यवस्था अनुसार सहकारी संस्थाहरुले आफ्नो मुख्य उद्देश्यमा ७० प्रतिशत काम गर्नुपर्ने प्रावधान छ । तर हालसम्म नियामक निकायले यो प्रावधान कार्यान्वयन गर्न सकेको छैन ।

देशभर ३० हजार भन्दा बढी सहकारी दर्ता भएका छन् । त्यसमध्ये आधा भन्दा बढी बचत तथा ऋण सहकारी छन् । यसैगरी कृषि विषयमा १० हजार सहकारी दर्ता छन् । अन्य फरक प्रकृतिका भए पनि बचत तथा ऋणमै रुमल्लिरहेका छन् ।

साना किसान कृषि सहकारी संस्थाको नेटवर्क पनि उनीहरुको काम पनि बचत तथा ऋण कारोबारमा मात्रै सिमिति छ । एकाध ठाउमा कृषि सहकारीहरुले मलविउ बिक्री, उत्पादिन सामानको संकलनलगायतका काम गरेपनि त्यो नगन्य मात्रामा भएकाले यसको प्रभावकारीता देखिएको छैन ।

बहुउद्देश्यीय सहकारीले पनि कृषि परियोजना सञ्चालन गर्न सकेका छैनन् । सरकारले हरेक वर्ष बजेटमार्फत कृषिलाई प्राथमिकता दिने उल्लेख गरेपनि सहकारी कृषिमा आकर्षित हुन सकेका छैनन् । कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक मल, बिउ, सिचाइ, प्राविधिक ज्ञान, भण्डारण तथा बजारीकरणको अभावका कारण कृषि क्षेत्रमा सहकारी आकर्षित हुन नसकेको बताउँछन् ।

सहकारीलाई उद्देश्य अनुसारको काममा लगाउनका लागि सहकारी ऐन २०७४ मा मुख्य कारोबारको प्रावधान राखिएको छ । यो व्यवस्था अनुसार सहकारी संस्थाहरुले आफ्नो मुख्य उद्देश्यमा ७० प्रतिशत काम गर्नुपर्ने प्रावधान छ । तर हालसम्म नियामक निकायले यो प्रावधान कार्यान्वयन गर्न सकेको छैन ।



Leave a comment