हाइलाइट

एक सहकारीबाट तीन जनालाई रोजगारी 

एक सहकारीबाट तीन जनालाई रोजगारी  :: Sahakari Akhabar

सहकारीमा रोजगारी गर्नेको संख्या केही थपिए पनि अझै औसतमा एक सहकारीले तीन जनालाई पनि रोजगारी दिन सकेको छैनन् ।

काठमाडौं । संचालनमा रहेका सहकारी संस्थाहरुले तीन जना भन्दा कमलाई रोजगारी दिएको पाइएको छ । अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ मा सहकारीमार्फत ९१ हजार ३ सय १ जनाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख छ ।

देशभर ३० हजार ८७९ संस्था संचालनमा रहेकोमा प्रति संस्था २.९५ जना बराबर रोजगारी सिर्जना भएको देखिन्छ । यसअघि सहकारी विभागले २०७७ पुसमा सार्वजनिक गरेको तथ्यांक अनुसार सहकारीले ८८ हजार ३०९ जनालाई रोजगारी दिएका थिए । एक वर्ष अवधिमा २ हजार ९९२ जना व्यक्तिले सहकारीमा थप रोजगारी पाएका छन् । तर, पछिल्लो समय सहकारीको यथार्थ तथ्यांक सरकारले संकलन गर्न सकेको छैन ।

सहकारीमा रोजगारी गर्नेको संख्या केही थपिए पनि अझै औसतमा एक सहकारीले तीन जनालाई पनि रोजगारी दिन सकेको छैनन् । सहकारीका अगुवाहरुले सहकारीले एक लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको दावी गर्दै आएका छन् ।

विभागको २०७४ को तथ्यांक अनुसार सहकारीले ६२ हजारलाई प्रत्यक्ष रोजगारी दिएका थिए । पछिल्लो समयमा सहकारीमा रोजगारी सिर्जना हुने क्रम बढ्दै गएको सहकारीका अगुवाहरु बताउँछन् । तर, सबैभन्दा धेरै बचत तथा ऋण सहकारीमै रोजगारी सिर्जना भएको पाइएको छ । कृषि तथा बहुउद्देश्यीय सहकारीले उद्देश्य अनुरुप काम गर्न नसक्दा धेरैजसो रोजगारी बचतमै सिर्जना भएको जानकारहरु बताउँछन् ।

विभागको त्यतिबेलाको तथ्यांक अनुसार प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारीमा २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारीमा रहेको पाइएको थियो । त्यस्तै प्रदेश २ मा ४ हजार १ सय ५३ संस्थाले १० हजार ८ सय ४३, बागमती प्रदेशमा १० हजार ४ सय १८ सहकारीमा ३३ हजार ८ सय ९२ जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारीले  ७ हजार ६ सय ३८ जनालाई प्रत्यक्ष रोजगारी दिएको तथ्यांक सार्वजनिक भएको थियो ।

लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५ सहकारीले ६ हजार ९ सय ८९ जना, कर्णालीका १ हजार ९ सय ६७ सहकारीले ४ हजार ५ सय ३४ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ६० सहकारीले २ हजार ८ सय १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको पाइएको थियो ।



Leave a comment