काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षणमा सहकारीको तथ्यांक भने हचुवाकै आधारमा उल्लेख गरेको पाइएको छ । २०७८ फागुनसम्ममा सहकारी संस्थाहरुको संख्या ३० हजार ८ सय ७९ पुगेको छ । २०७७ फागुनसम्ममा सहकारी संस्थाहरुको संख्या २९ हजार ८ सय ८६ रहेको सर्वेक्षणमा उल्लेख छ ।
सरकारले एक वर्षको अवधिमा ९९२ वटा सहकारी दर्ता भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । प्रदेश र स्थानिय तहहरुले समेत सहकारी दर्ता गर्ने भएकाले यो तथ्यांक निकै बढि हुने सहकारीकर्मीहरुको अनुमान छ ।
सहकारीको सेयर पुँजी, बचत तथा लगानीको तथ्यांक भने अघिल्लै वर्षको आधारमा थोरै वृद्धि गरिएको छ । सर्वेक्षणमा २०७८ फागुनसम्ममा सहकारी संस्थाहरुमा आवद्ध सेयर सदस्य संस्था ७३ लाख ३७ हजार २ सय ५२, सेयर पुँजी ९४ अर्ब १२ करोड, बचत ४ खर्ब ७७ अर्ब ९९ करोड र कर्जा प्रवाह ४ खर्ब २६ अर्ब ३१ करोड पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
२०७७ फागुनसम्ममा सहकारी संस्थाहरुमा आवद्ध सेयर सदस्य संस्था ७३ लाख ७ हजार ४ सय ६२, सेयर पुँजी ९४ अर्ब १० करोड, बचत ४ खर्ब ७७ अर्ब ९६ करोड र कर्जा प्रवाह ४ खर्ब २६ अर्ब २६ करोड पुगेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
सरकारले स्थानिय र प्रदेशमा सहकारी हस्तान्तरण गरेपनि तथ्यांक समेत राख्न सकेको छैन । सहकारीको नियमनसम्म गर्ने भन्दै अनलाईन सूचना प्रणाली कोपोसिम सुरु गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
सहकारी विभाग र राष्ट्रिय सहकारी विकास बोर्डले छुट्टाछुट्टै तथ्यांक संकलन गर्ने बताएपनि काम भने हुन सकेको छैन ।
एक वर्षअघि तत्कालिन रजिष्ट्रार टोकराज पाण्डेले संकलन गरेको तथ्यांकमा अनुमानका आधारमा थप गरेर नयाँ तथ्यांक प्रस्तुत गर्दै आएको छ ।
Leave a comment