काठमाडौं । संघिय सहकारी विभागले बिहीबार एकीकृत निर्देशन–२०७९ जारी गर्दै स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने नियम बनाएको छ । सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि विभागले ३५ बुँदे निर्देशन जारी गर्दै सहकारीका कुनै पदमा रहेको भए राजीनामा दिन विभागले निर्देशन दिइसकेको छ ।
सहकारीमा नेतृत्व गरेका तीन दर्जन भन्दा बढी सहकारीकर्मी स्थानीय तहको प्रमुख तथा उपप्रमुखलगायतका पदमा निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कूनका सञ्चालक पनि स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका छन् ।
सहकारी नियमावलीको प्रावधान र विभागको निर्देशनपछि उनीहरूले सहकारीबाट तत्काल राजीनामा दिनुपर्ने भएको छ । एकीकृत निर्देशनमा सरकारी सेवामा निर्वाचित वा मनोनीत कुनै पनि व्यक्ति सहकारीको सञ्चालक वा लेखा समितिमा बस्न नपाउने व्यवस्था गरेको गरेको छ । सहकारीको नियमन सम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुने तीनै तहका कर्मचारी पनि सहकारीको सदस्य बन्न पाउँदैनन् ।
सहकारी नियमावली–२०७५ को नियम ८१ मा सहकारी संस्थाको दर्ता वा नियमनसम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न निर्वाचित वा मनोनित सार्वजनिक पदमा बहाल रहेको कर्मचारी, जनप्रतिनिधी सहकारी संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिमा बस्न नपाउने नियम छ ।
महासंघका सञ्चालक रामकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई तिम्सिना भक्तपुरको सूर्यविनायक नगरपालिकाको उपमेयर र कास्कुनका सञ्चालक यज्ञराज ढकाल सुर्खेतको भेरीगंगा नगरपालिकाको मेयर र अर्का सञ्चालक जनक खत्री भक्तपुरको चागुनारायण नगरपालिका ८ को वडा अध्यक्ष निर्वाचित भएका छन् ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका तीन जना सञ्चालक, नुवाकोटका चारजना सहकारीकर्मी, रोयल साकोसका ४ जना सदस्य मात्र नभई देशभर सहकारीकर्मी प्रमुख तथा उपप्रमुखमै निर्वाचित भएका छन् ।
स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा पनि धेरैजसो सहकारीकर्मी प्रतिनिधि चुनिएका थिए । तर, अधिकांशले सहकारीको पदबाट राजीनामा दिएका छैनन् ।
विभागले पनि राजीनामा नगर्नेलाई कुनै कारवाही गर्न सकेको छैन । तर, अहिले निर्वाचन सम्पन्न भएको १३ दिनमै निर्देशनमा स्पष्ट उल्लेख गरेकाले सहकारी क्षेत्रमा स्थापित जनप्रतिनिधिले सहकारीमा रहेको आफ्नो जिम्मेवारीबाट मुक्त हुने अपेक्षा धेरैको छ ।
Leave a comment