अखबार समाचार प्रभाव : उपभोक्ता केन्द्रीय संघले साधारणसभाको निर्णय मिति नै सच्यायो !

अखबार समाचार प्रभाव : उपभोक्ता केन्द्रीय संघले साधारणसभाको निर्णय मिति नै सच्यायो ! :: Sahakari Akhabar

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले साधारणसभा बोलाउन बसेको संचालक समिति बैठकको निर्णय मिति नै परिवर्तन गरेको छ । सहकारी अखबारले संघको साधारणसभा ‘निर्देशिका विपरित’ भन्ने समाचार प्रकाशित गरेपछि हतार हतार निर्णय मिति नै सच्याएको अर्को सूचना प्रकाशित गरेको हो ।

संघद्धारा जारी पहिलो सूचनामा जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभा गर्ने तय गरेको उल्लेख थियो । यसैगरी पछिल्लो सूचनामा भने चैत २९ गते बैठक बसेर साधारणसभाको निर्णय गरिएको उल्लेख छ ।

सहकारी विभागले जारी गरेको साधारणसभासम्बन्धी निर्देशिका अनुसार संघसंस्थाले साधारणसभा बस्न कम्तीमा ३० दिन अगावै मिति, समय र स्थान तोक्नुपर्ने व्यवस्था छ । यस विषयमा संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले लामो समयदेखि साधारणसभा गर्ने विषयमा छलफल भइरहेकाले निर्देशिका अनुसारको समय सीमा आवश्यक नपर्ने बताएका थिए ।

तर, समाचार प्रकाशित भएपछि भने संघले निर्णय मिति नै सच्याएको छ । नयाँ सूचनामा भुलसुधारसम्बन्धी कुनै कुरा उल्लेख गरेको छैन । दुवै सूचनाको जारी मिति भने एकैदिन जेठ ४ गते रहेको छ । उपाध्यक्ष पौडेलले अघिल्लो बैठकमै निर्णय भएको र पछि तयारी बैठक मात्र बसिएको भन्दै आफ्नो भनाईको सामाजिक संजाल फेसबुकमा बचाउँ गरेका छन् ।



Leave a comment