काठमाडौं । संघिय सहकारी विभागले असार मसान्तसम्म कोपोमिसमा आबद्ध हुन सबै सहकारीलाई निर्देशन दिएको छ । विभागले राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, विशिष्टिकृत सहकारी संघ, प्रदेश संघ, जिल्ला सहकारी सहकारी संघ तथा सबै प्रारम्भीक सहकारी संघलाई पत्राचार गर्र्दै कोपोमिसमा आउन आह्वान गरेको हो ।
युजर नेम नलिएका सहकारीले पनि सम्बन्धी नियामक निकायबाट लिएर कोपोमिसमा सूचना प्रविष्ट गर्न विभागले भनेको छ । समष्टिगत विवरण भर्न÷भराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइएको छ । विभागले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा आन्तरिक राजस्व विभागलाई बोधार्थ पठाएर सबै सहकारीलाई कोपोमिसमा आउन आह्वान गरेको हो । कोपोमिसमा नआउने सहकारीलाई सेवासुविधा रोक्ने पनि विभागको पनि छ ।
विभागले सोमबार निर्णय गरी कोपोमिसमा सबै सहकारीलाई ल्याउन पत्राचार गरी संघ÷संस्थाले असारसम्म अनिवार्य रुपमा कोपोमिसमा समष्टिगत विवरण फारम भर्न निर्देशन दिएको हो । त्यस्तै प्रत्येक आर्थिक वर्षको माघसम्म समष्टिगत विवरण राख्नुपर्ने व्यवस्था पनि विभागले गरेको छ । सहकारी संस्थाको नाम, फोन, सम्पर्क ठेगाना, सदस्य, सेयरपुँजी, कर्मचारी, बचत, कर्जा लगानी लगायतको समष्टिगत विवरण राख्नुपर्ने छ ।
विभागले तोकिएको समयभित्र कोपोमिसमा नआउने सहकारीलाई सहकारी ऐन २०७४ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । सहकारीले हरेक महिनाको ७ गतेभित्र मासिक विवरण, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिन भित्र चौमासिक र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।
ऐनमा कोपोमिसमा नआउने सहकारीलाई तीन लाख जरिवाना हुने व्यवस्था छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले कोपोमिस पूर्ण कार्यान्वयन गर्नतर्फ विभाग अग्रसर भएको बताए । ‘सूचना जारी गरेका छौं, तोकिएको समयभित्र कोपोमिसमा नआए कारवाही हुन्छ’ उनले भने ।
सहकारी ऐन २०७४ ले चार वर्षभित्र ५ करोड भन्दा माथिको कारोबार गर्ने सबै सहकारीलाई कोपोमिसमा समावेश गर्नैपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । तर, कोपोमिसमा आउने र नियमित सूचना अपडेट गर्ने सहकारी निकै कम छन् ।
अभियानको टिमले सहयोग गरेमा सहकारीलाई कोपोमिसमा ल्याउन कुनै समस्या नभएको रजिष्ट्रार पण्डितले बताउँदै आएका छन् । सहकारीका निकायहरुले पनि आफ्ना सदस्यहरुलाई कोपोमिसमा आबद्ध गराउन सघाउने प्रतिवद्धता गरिसकेका छन् ।


Leave a comment