झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रका १ हजार ५ सय सदस्य किसानलाई घाँसको बिउ निशुल्क बितरण गरेको छ । संस्थाले गितका वर्ष जस्तै पशुपालक उद्यमी किसानलाई यो वर्ष पनि उन्नत जातको घाँसको विउ वितरण गरेको हो ।
संस्थाका सदस्य बनेका बाख्रा, गाई, भैंसी पाल्ने उद्यमी किसानहरुलाई २–२ केजीका दरले सुडान जातको बर्खे घाँसको विउ निःशुल्क वितरण गरिएको संस्थाका एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए ।
संस्थाले बिर्तामोड वडा नं ६ बिरानमा पनि सहारा बाख्रापालन समूहमा आवद्ध किसानलाई गत जेठ ७ गते विउ वितरण गरेको छ । सो समूहमा आवद्ध ३० जना बाख्रापालक किसानलाई २–२ केजीका दरले घाँसको विउ प्रदान गरेको हो ।
एकपटक उम्रिए पछि ३–४ पटक घाँस काटेर खुवाउन मिल्ने, तराईदेखि मध्य पहाडी क्षेत्रमा रोप्न सकिने तथा १ केजी विउ १ कठ्ठामा छर्न मिल्ने सुडान उन्नत जातको घाँस भएको भाटले बताए । संस्थाले प्रत्येक वर्ष उद्यमी किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गर्दै आएको तथा सदस्यहरुलाई उद्यमी बनाउन तालिम, स्वास्थ्य परीक्षण शिविर, पशु बीमा आदिमा सहजीकरण गरिरहेको छ ।
५ हजार जना उद्यमी किसानहरु बनाइसकेको संस्थाले यो वर्ष उद्यमी किसानलाई घाँसको विउ निःशूल्क प्रदान गर्न चार लाख ५० हजार रुपैयाँ खर्च गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । पशु धनको रक्षाको लागि साहारा नेपालले पशु बीमा गरिरहेको र अहिलेसम्म १ हजार ७ सय सदस्यहरुको पशु बीमा गरिसकेको एग्रो विजनेश युनिटका प्रमुख डा. भाटले बताए ।
Leave a comment