शहरी क्षेत्रका सहकारीलाई वित्तीय कारोबारमा रोक लगाउन सुझाव 

शहरी क्षेत्रका सहकारीलाई वित्तीय कारोबारमा रोक लगाउन सुझाव  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थिती रहेको ठाउँमा सहकारीमार्फत भइरहेको वित्तीय कारोबार रोक्न सर्वसाधारणले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि सुझाव दिदै उनीहरुले शहरी क्षेत्रका सहकारीले गर्ने वित्तीय कारोबार र घरजग्गामा लगानी गर्न रोक लगाउन सुझाव दिएका हुन् ।

यसैगरी बचत तथा ऋण सहकारी संस्थाले सहकारीको सिद्धान्त, भावना अनुसार कार्य नगरी लगानीमा चर्को ब्याज लिई ठगी गरेकोले खारेज गर्न समेत सर्वसाधारणको सुझाव दिएका छन् । सहकारी र समूहलाई कम्युन मोडलमा रुपान्तरण गर्ने गरी बजेट विनियोजन हुनुपर्ने, सहकारी र समूहलाई उत्पादनमूलक तालिमको ब्यवस्था गर्नुपर्ने सर्वसाधारणले सुझाएका छन् ।

यसैगरी निजी क्षेत्रका होटल, बैंक, बित्तीय संस्था, सहकारी लगायत जिल्लास्तरमा कार्यरत संघसंस्थाले पनि केन्द्रमा दर्ता हुनुपर्ने व्यवस्था गर्न, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट स्थानीय तहका सहकारी मार्फत उत्पादन मूलक काममा खर्च गर्ने पनि माग गरेका छन् ।

बजेटमा सर्वसाधारणको सुझाव समेट्नका लागि अर्थमन्त्रालयले ११३८ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । टेलिफोनबाट आएका सुझाव अध्यन गरी बजेटमा समेट्ने प्रयास गरेको मन्त्रालयले जनाएको छ । 



Leave a comment