काठमाडौं । सरकारले जेठ एक गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सहकारी संस्थाहरुलाई प्रविधि मार्फत सेवा प्रवाह गर्न थप दवाव परेको छ । अधिकांश सहकारीले कार्यालयबाटै सदस्यलाई सेवा दिइरहेका छन् । सहकारीको सेवा प्रविधिमा आधारित नहुँदा २ दिने बिदाले सदस्यहरुलाई अप्ठेरो पर्ने देखिएको छ ।
पछिल्लो समयमा केही सहकारीले प्रविधिमार्फत सेवा दिन थालेपनि धेरैजसोले कार्यालयबाटै सेवा दिइरहेका छन् । सहकारीमा एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधिमा आधारित सेवा सुरु भएपनि सबै संस्थामा यो सेवा उपलब्ध छैन । सातामा दुई दिन संस्था बन्द हुँदा सहकारीका सदस्यले पाउने सेवा प्रभावित हुने भएको हो ।
सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिएसँगै सहकारीहरुले बिदाका सूचना जारी गर्न थालेका छन् । केहीले भने आइतबार सेवा जारी राख्ने योजना अघि सारेका छन् । केहीले हप्तामा दुई दिन बिदा दिने सूचना जारी गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकले बैैंकहरुलाई बुधबार निर्देशन जारी गर्दै हप्तामा २ दिनको बिदा दिने घोषणा गरिसकेको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सबै सहकारीमा पनि स्वतहः बिदा हुने जनाइसकेका छन् ।
बैंकहरुको कार्यालय बन्द भएपनि ग्राहकहरुले अनलाईनमार्फत कारोबार गर्न सक्ने भएकाले खासै प्रभाव पर्दैन ।
तर, सहकारीमा अनलाईनमा आधारित सेवा न्यून भएकाले सदस्यहरुलाई अप्ठेरो पर्ने भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले २ दिन बिदाले सहकारीलाई प्रविधिमा जान दवाव र प्रभाव परेको बताउँछन् ।
२ दिन बिदाले सहकारीलाई चुनौती भपिएको र प्रविधिमा जान वाध्यकारी बनाएको पौड्याल ठान्छन् । ‘हामीले पेपरलेस र क्यासलेसको कुरा उठाइरहेका छौं’ उनले भने, ‘अहिले कोर बैंकिङ, डिजिटल बैंकिङ पनि नगर्ने सहकारीलाई २ दिन बिदाले सकस ल्याउने छ ।’
सहकारीलाई प्रविधि दिन राष्ट्रिय सहकारी बैंकले पनि गृहकार्य गरिरहेको छ । बैंकले फण्ड ट्रान्सफर, एटीएम लगायत प्रविधिमैत्री सेवा दिन गृहकार्य गरिरहेको बैंकका अध्यक्ष केबी उप्रेती बताए । ‘नयाँ प्रविधि ल्याउँदै छौं’ उनले भने, ‘बिदा बढ्दै जादाँ प्रविधि अनिवार्य जस्तै भएको छ ।’
Leave a comment