Sahakari Akhabar

चुनावी माहोल बनाउन ‘सहकारीको’ दुरुपयोग 

चुनावी माहोल बनाउन ‘सहकारीको’ दुरुपयोग  :: Sahakari Akhabar

काठमाडौं । स्थानिय तहको चुनाव नजिकिदै गर्दा भोट तान्नका लागि राजनीतिक पार्टी र उम्मेदवारहरुले सहकारी क्षेत्रको दुरुपयोग गर्न थालेका छन् । सिद्धान्तत सहकारी क्षेत्र पार्टीगत राजनीति हुनुहुदैन भनेपनि सहकारी संघसंस्थाका नेतृत्वकर्ताकै आडमा राजनीतिक पार्टी र उम्मेदवारहरुले प्रचार प्रसारका लागि सहकारी क्षेत्रलाई दुरुपयोग गरेका हुन् ।

सामाजिक संस्थाका (एनजिओ) का रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नेशनल कोअपरेटर्स एलाएन्सको काठमाडौं जिल्ला समितिले आईतबार ‘स्थानिय तहको निर्वाचनमा एलाइन्सको भूमिका’ विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो ।

विषयवस्तु फरक राखेपनि संस्थाको कार्यक्रमको उद्देश्य भने काठमाडौं महानरपालीकामा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नु मात्र रहेको देखियो । कार्यक्रममा नेपाली कांग्रेसबाट महानगरपालीकाको उम्मेदवार बनेकी सिर्जना सिंहलाई मात्र बोलाइएको थियो ।

तर, कार्यक्रमका एलाइन्सका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बास्कोटा र अध्यक्ष डिल्ली तिवारीको समेत उपस्थिती रहेको थियो । बास्कोटाले सार्वजनिक कार्यक्रमहरुमा भने एलाइन्स नेपाली कांग्रेसको भातृ संगठन नभएको दावी गर्ने गरेका छन् ।

यसैगरी इटहरीका सहकारीकर्मीको नाममा अपिल जारी गर्दै इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुका लागि भोट मागिएको छ । कसैको नाम उल्लेख नगरी सहकारीका एजेन्डा मात्र राखेर छद्म अपिल जारी गरेपनि त्यसमा इटहरी मेयरका उम्मेदवार यामकुमार सुब्बा र उपमेयर संगीता चौधरीलगायत एमालेका लागि भोट मागिएको छ ।

सहकारीकर्मीको अपिल नाममा जारी उक्त सन्देश राष्ट्रिय सहकारी बैंककी संचालक समेत रहेकी अमृता सुब्बाले समेत सेयर गरेकी छिन् । सहकारी राजनीतिक प्रभावबाट अलग हुनुपर्ने भन्दै आएपनि नेपालको सहकारी अभियानमा भने राजनीतिक प्रभाव उच्च छ ।

सहकारी अभियानको छाता संघहरुमा राजनीतिक दलको सिफारीसका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तीका कारणले पनि सहकारी क्षेत्रमा पार्टीको प्रभाव बढि छ । कतिपय सहकारीकर्मीहरु पनि यतिबेला राजनीति पार्टीबाट टिकट लिएर जनप्रतिनिधि बन्न चुनावी मैदानमा छन् ।

सहकारीकर्मीहरु भने अभियानमा राम्रो काम गर्ने भन्दा पनि राजनीतिक पार्टी र नेताको निर्देशन अनुसार काम गरेर उनीहरुको मन जित्ने र त्यसैको आधारमा आफ्नो पहुँच बढाउने दाउमा देखिन्छन् । राजनीतिक आस्थाका आधारमा संघको नेतृत्व चयन हुने कारण नै संघहरुको काम व्यवसायीक हुन नसकेको आम सहकारीकर्मीहरु बताउछन् ।



Leave a comment