सहकारीहरुलाई पनि बचत फिर्ता गर्न धौधौ

सहकारीहरुलाई पनि  बचत फिर्ता गर्न धौधौ :: Sahakari Akhabar

काठमाडौं । तरलताको समस्या बढ्दै गएपछि सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न धौधौ पर्न थालेको छ । पर्याप्त तरलताको व्यवस्था नगरी ऋण लगानी गरेका संस्थाहरुलाई बचत फिर्ता गर्न समस्या हुन थालेको हो ।

बचत तथा ऋण सहकारीहरुले प्रयोग गर्ने पल्स मापदण्ड अनुसार सहकारी संस्थाहरुले १५ प्रतिशत तरलता राख्नुपर्छ । तर सहकारी संस्थाहरुले तोके अनुसार तरलता कायम नगरी जथाभावी लगानी गरेकाले तरलताको समस्या लम्बिएपछि सदस्यहरुले मागेका बेला बचत फिर्ता गर्न गह्रो पर्न थालेको हो ।

शहरी क्षेत्रमा संचालित र दैनिक बजार कलेक्सनमा निर्भर रहेका संस्थाहरुलाई बढि समस्या पर्न थालेको एक सहकारी संस्थाका म्यानेजरले बताए । ‘सदस्य केन्द्रीत भएका र नियमित बचत गर्ने संस्थामा त्यति समस्या छैन’ उनले भने, ‘बजारप्रतिनिधि घटाएर दैनिक बचत संकलन गर्ने संस्थाहरुमा भने समस्या हुन थालेको छ ।’ 

बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी बन्द गरेपछि बजारमा आर्थिक गतिविधि सुस्त भएको छ । जसको कारण बजारबाट दैनिक संकलन हुने बचत आधा घटेको र जसको कारण संस्थामा तरलता व्यवस्थापन गर्न हम्मेहम्मे पर्न थालेको सहकारीकर्मीहरुको अनुमान छ ।

चालु आर्थिक वर्षको पुस महिनादेखि नै बैंकहरुमा तरलता समस्या हुन थालेको हो । तरलता समस्याका कारण बैंकहरुले थप कर्जा प्रवाह गरेका छैनन् । बैंकबाट कर्जा प्रवाह नभएपछि आर्थिक गतिविधिमा सुस्तता आएसँगै सहकारीको बचत संकलन घट्न थालेको सहकारीकर्मीहरुको अनुमान छ ।

तरलताको संकट गहिरिदै जादा ग्रामीण क्षेत्रका सहकारीसम्म नगद अभाव हुन थालेको छ । वागमती प्रदेशका रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली ग्रामीण क्षेत्रमा पनि सहकारीहरुले बचत फिर्ता गर्न नसकेको उजुरी आउन थालेको बताउछन् ।

‘विगतमा सहकारीको समस्या भन्ने वित्तीकै सहरी क्षेत्रमा मात्र देखिन्थ्यो’ उनले भने, ‘अहिले त ग्रामीण क्षेत्रमा समुदायभित्र सिमित रहेका संस्थामा पनि तरलताको अभाव देखिएको छ ।’ रजिष्ट्रार कार्यालयमा दैनिक ४-५ वटा उजुरी सहकारीले पैसा फिर्ता नदिएको भन्दै आउन थालेको उनले जानकारी दिए ।

देशभर रहेका ३० हजार सहकारीमध्ये ६० प्रतिशतले वित्तीय कारोबार गर्दै आएका छन् । तर, वित्तीय कारोबार गर्ने सहकारीहरुले तोकिएको मापदण्ड अनुसार संस्था संचालन नगर्दा तरलताको संकट भयावह बन्न थालेको सहकारीकर्मीहरु बताउछन् ।



Leave a comment